धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले श्रमदान गरे बापत श्रमदातालाई कुनै भुक्तानी नदिइएको प्रष्ट पारेका छन्।
मेयर साम्पाङका विरोधीहरूले हर्क साम्पाङले श्रमदान गरे बापत श्रमदाताहरूलाई भुक्तानी दिएको भन्दै डोर हाजिरी फारामको फोटो खिचेर सामाजिक सञ्जाल राख्दै विरोध गरेपछि मेयर साम्पाङले एउटा भिडियोबाट उक्त हाजिरी फाइल कति बजेट बराबरको श्रमदान भएछ भनेर अभिलेखीकरणका लागि मात्रै गरिएको दाबी गरे।
उनले चित्त नबुझे नगरपालिकाको लेखा शाखामा गएर बुझ्न पनि विरोधीहरूलाई अनुरोध गरे।
उनले श्रमदानका क्रममा प्रयाेग गरिएकाे तारजालीको भुक्तानीको विषयमा मात्रै अहिले विवाद भएकाे बताए।
उनले अफवाह फैलाउनेहरूलाई सत्यकाे खाेजी गर्न आग्रह गरे।
मेयर साम्पाङले श्रमदानमा लागेको खर्च भन्दै भुक्तानी गर्न खोज्दा उपमेयर तथा नेकपा माओवादी केन्द्रका नेता अइन्द्रविक्रम बेघाले कडा विरोध गरेपछि हालै विवाद चर्किएको छ।
जसकाे परिणाम मंगलबार स्वतन्त्र मेयर साम्पाङ र दलका नेता तथा उपमेयर बेघाका समर्थकहरू आमुन्नेसामुन्ने भए।
उपमेयरका कार्यकर्ताहरूले मेयर साम्पाङविरूद्ध मुर्दावाद भन्दै नाराबाजी गरे।
तर झडप भने भएन।
स्मरण रहोस्स्ः यसअघि नेकपा एमालेका नेता महेश बस्नेतले पनि धरानमा श्रमदातालाई जनही दिनको ८०० देखि १२०० रुपैयाँसम्म पैसा दिने गरेकाे भन्दै भ्रम फैलाएका थिए।
बस्नेतकाे उक्त दाबी झुटाे सावित भएकाे थियाे।



