विश्वका जुनसुकै जातजातिमा व्यक्तिगत जीवनयापन र समाज चलाउनका लागि आफ्नै खालका चालचलन र रीतिथिति कायम गरिएका हुन्छन् ।

त्यस्तै किराती महाजाति भित्रका कुलुङ जातिमा पनि उनीहरूको व्यक्तिगत र सामाजिक जीवनचक्र चलाउन विभिन्न खालका रीतिथिति र सामाजिक नियमहरू छन् ।

हिन्दु धर्ममा ‘पण्डित’ भनिएझैँ कुलुङ जातिले चाहिँ आफ्नो समाजका ‘पण्डित’ अर्थात् ‘धामी–झाँक्री’हरूलाई नोक्छो, नागिरे, मोप, सेलेवा, रोङ्छोप, कूबीमी, सातीपूस, खूलू आदि नामले चिनिन्छ । हिन्दु, बौद्ध वा अन्य धर्ममा जस्तो एकै व्यक्तिले सबै कर्मकाण्ड गर्ने परम्परा कुलुङ जातिमा छैन ।

समाजले हरेक कामका लागि अलग अलग व्यक्ति चुनेको हुन्छ । त्यसरी चुनिएका व्यक्ति नोक्छो, नागीरे, रोङ्छोप, वैदाङ, मोप, भैरुङ, सातीपूस, मोसोछा, लाछोछा, कूबीमी, खूलू हुन्छन्, जुन तहअनुसार विभाजन गरिएकाे हुन्छ ।

हिन्दू, बौद्ध, इसाई, जैन वा सिख धर्मका जस्तो दस्तावेजिकरण नभएकाले कुलुङ जातिको जन्म, विवाह, मृत्यु आदि परम्पराहरू मौखिक रूपमै सञ्चालित थिए ।

यिनै मौखिक ज्ञानलाई ‘थुतुरी वेद’ पनि भनिन्छ, जुन रिसिया, मन्त्रतन्त्रका रूपमा नोक्छो, नागिरे, कूबीमी, मोप, सेलेवा, वैदाङ, भैरुङ, खूलू आदि व्यक्तिहरूबाट पुस्ता दरपुस्ता हस्तान्तरण हुँदै आएको छ ।

कुलुङ जातिमा नयाँ धामी–झाँक्री गुरुको निर्देशन र तान्त्रिक प्रशिक्षणपछि मात्र कार्यरत हुन्छन् भन्ने जनविश्वास छ ।

यसै सन्दर्भमा, कुलुङ जातिको उत्पत्ति, संस्कार, संस्कृति, पूजा–विधि, परम्परागत कानुन, लोक मान्यता, देवी–देवता, जन्मदेखि मृत्युसम्मका सबै विधिविधानहरू समेटिएको बृहत् किताब ‘कुलु रिदुम्’ तयार भएको छ ।

यस कामको थालनी ‘नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान संघ (किरात कूलू गूस खम) बाला इकाई संखुवासभा’ले ५–६ वर्षअघि नै गरेको थियो। पछि प्रेमचन्द्र सम्फरु (उहाँले आफूलाई ‘प्रेम किराती’ भन्छन्) ले यो कार्यलाई अझ बृहत् बनाउँदै विसं २०७९/०८० देखि विभिन्न नोक्छो, नागिरे, मोप, सेलेवा, वैदाङ, भैरुङ, खूलूहरूसँग भेटघाट गर्दै तथ्यसङ्कलन र लेखन कार्य प्रारम्भ गर्नुभयो ।

कुलुङ जातिले चाहिँ आफ्नो समाजका ‘पण्डित’ अर्थात् ‘धामी–झाँक्री’हरूलाई नोक्छो, नागिरे, मोप, सेलेवा, रोङ्छोप, कूबीमी, सातीपूस, खूलू आदि नामले चिनिन्छ ।

फाइनल निष्कर्ष निकाल्न २०८१ सालको बैशाख २९ देखि जेठ ४ गतेसम्म संखुवासभाको साल्पा सिलिचोङ गाउँपालिका–३, ताम्कूको लकूवा गाउँमा बृहत् छलफल तथा बहस कार्यक्रम आयोजना गरिएको थियो, जहाँ कुलुङ धामी–झाँक्री, बुद्धिजीवी, सरोकारवालाहरूको सहभागिता थियो ।

त्यसपछि प्रेम किराती, जङ्गबहादुर दावार लगायतको टोलीले कुलुङ जातिका ऐतिहासिक भूमि, अर्थात् चार पूर्खाहरू राताप्खू, खप्दूलू, ताम्सी र छेम्सी स्थायी बसोबास गरेको महाकुलुङ भूमि पुगेर थप अध्ययन गरे ।

यस क्रममा कुलुङ जातिको इतिहास, भूमि, मातृभाषा, वेषभूषा, संस्कार–संस्कृति, परम्परागत ज्ञान, गीत–संगीत, धामी–झाँक्रीको यात्रा मार्ग (नाताबम), देवी–देवतासँगको सम्बन्ध, विवाहका प्रकार, मृत्युका विधि—जसमा ‘नसी’, ‘हिल्सी’, ‘मोमोसी’, ‘चीचीमा सी’ आदि समेटिएको छ। ती सबैबारे ७ दिने कार्यक्रममा गहिरो छलफल र बहस गरियो, जसमा अन्ततः खूलूहरूले एकमतले निचोड निकालेका थिए ।

प्रेम किरातीले खूलूहरूको भनाइलाई मिहिन रूपमा टिपोट गरी लेखनमा उतार्नु भयो। २०८२ सालको जेठ अन्त्यमा किताब प्रकाशित भयो। यस कार्यको मूल श्रेय प्रेम किरातीलाई जान्छ—उहाँ निजामती सेवामा रहेर पनि आफ्ना जातिको संस्कृति संरक्षणका लागि अविरल खटिनुभयो ।

बिहान सबेरैदेखि राति १०–११ बजेसम्म, स्वास्थ्यप्रति बेवास्ता गर्दै खटिनु भएको त्यो योगदान म एक सहभागीको हैसियतले कहिल्यै बिर्सन सक्दिन ।

त्यस्तै, चित्राङ्कनको काममा लकूवा गाउँका जङ्गबहादुर दावारज्यूको पनि उल्लेख्य योगदान छ। उहाँले खूलूहरूले वर्णन गरेका दृश्यलाई उत्कृष्ट रूपमा चित्रित गर्नुभयो, जुन कामको पनि सम्मान गर्नु आवश्यक छ।

अन्त्यमा, कुलुङ समुदायको पहिचान, गौरव, इतिहास, रीतिरिवाज र संस्कृतिको संरक्षण र प्रवर्द्धनमा केन्द्रित रहेर ‘कुलु रिदुम्’ जस्तो गहन ग्रन्थ तयार पार्नु भएकोमा सम्पूर्ण कुलुङ जातिको तर्फबाट संकलक, सम्पादक, लेखक, मोटिभेटर र चिन्तक प्रेम किरातीज्यूप्रति म अन्तरहृदयदेखि आभार प्रकट गर्दछु ।