काठमाडाैँ- हरेक साल साउन २२ गते औपचारिक कार्यक्रमसहित भव्यताका साथ मनाउँदै आएको किरात राई यायोक्खाको स्थापना दिवस यसपटक रोकिने अवस्थामा पुगेको छ।
यायोक्खाको औपचारिक स्थापना दिवस राेकिदा वार्षिक रूपमा प्रदान गरिने करिब १० लाख रुपैयाँ बराबरको पुरस्कार वितरण कार्य पनि स्थगित हुँदैछ ।

तर, भव्य कार्यक्रमको आयोजना गर्न नसके पनि २२ गते काठमाडौँको गोकर्णेश्वरमा मुन्दुमी वृक्षारोपण र २३ गते काटेश्वरस्थित यायाेक्खा केन्द्रीय कार्यालय परिसरकाे ट्रस भवन उद्घाटन गरी स्थापना दिवस मनाइने यायाेक्खाका महासचिव भीम राईले बताए।
स्थापना दिवसमा प्रदान गरिने स्रष्टा सम्मान, पत्रकारिता, मातृभाषा, साहित्य तथा संस्कृतिसम्बन्धी विभिन्न ३६ शीर्षकका सम्मान तथा पुरस्कारहरू भने आगामी माघ १ गते मनाइने यले संवत् कार्यक्रममा वितरण गरिनेछ।

यायोक्खाको स्थापना २०४५ साउन २२ गते भएको थियो। तर त्यसबेला ‘किरात राई सांस्कृतिक तदर्थ समिति’ नाम राखिएको थियो, जसको अध्यक्ष बमबहादुर राई थिए।
सोही मितिलाई आधार मानेर यसपालि ३८औं स्थापना दिवस मनाउनुपर्ने थियो।
महासचिव राईका अनुसार यायोक्खा केन्द्रीय कार्यालय भवन निर्माणका लागि नक्सा पास, माटो परीक्षण र नो कोशी आन्दोलनमा गरी ७–८ लाख रुपैयाँ खर्च भइसकेको छ।
यसअघि प्रकाशित समाचारमा केही थपघट र सम्पादन गरिएकाे छ । स. (३१ जुलाई २०२५)



