धरान उपमहानगरपालिका–१४ स्थित विजयपुर क्षेत्रलाई लिएर राई र लिम्बू समुदायबिच केही दिनदेखि जारी स्वामित्वको विवाद अप्रिय घटनामा परिणत हुन सक्ने खतरालाई ध्यानमा राख्दै दुवै समुदायका बुद्धिजीवी तथा अगुवाहरुले परिस्थिति सामान्य बनाउन सरोकारवाला पक्षलाई आह्वान गरेका छन्।
उनीहरुले किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ, विजयपुर संरक्षण समितिलगायत सम्पूर्ण संघ–संस्था र संस्थामा आबद्ध व्यक्तिहरुलाई समस्या समाधानका लागि तत्काल आ–आफ्नो तर्फबाट भइरहेका दाबी–विरोध स्थगन गरी समझदारी र सहनशीलता अपनाउन आग्रह गरेका हुन्।
विजयपुरका अन्तिम शासक ‘बुद्धिकर्ण राय’लाई लिम्बूहरुले आफ्नो मात्र पुर्खा रहेको दाबी गर्ने र राईहरुले भने विजयपुरलाई लिम्बूहरुको मात्र नभएर समग्र किरातीहरुको साझा ऐतिहासिक क्षेत्रका रुपमा व्याख्या गर्दा दुवै समुदायबिच विवाद चर्किएको हो।
विजयपुरबारे हालसम्मका तथ्य र प्रमाणहरु सर्वमान्य नभएकाले थप अध्ययन–अनुसन्धानको खाँचो रहेको उनीहरुको भनाइ छ।
यसैबिच ‘किरात देवान’ जातिले बुद्धिकर्ण राय आफ्नो पुर्खा रहेको दाबी गर्दै प्रमाण स्वरूप एउटा प्राचीन वंशावली सार्वजनिक गरेका छन्। यद्यपि, उनीहरुको दाबी ओझेलमा परेको छ भने मुख्य विवाद राई र लिम्बू समुदायबिच नै भइरहेको छ।

उनीहरुले आइतबार (२३ अगस्ट) ललितपुरमा भेला भई छलफल गरेपछि संयुक्त अपिल–पत्र जारी गरेका हुन्। अपिलमा ‘फुटाउ र शासन गर’ भन्ने औपनिवेशिक रणनीति आज पनि व्याप्त रहेकाले दुवै समुदायलाई उक्त रणनीतिको गोटी नबन्न सचेत गराइएको छ।
विजयपुरबारे हालसम्मका तथ्य र प्रमाणहरु सर्वमान्य नभएकाले थप अध्ययन–अनुसन्धानको खाँचो रहेको उनीहरुको भनाइ छ।
यसका लागि समस्या समाधान गर्न अविलम्ब एउटा अध्ययन कार्यदल गठन गरी काम अघि बढाउन सम्बन्धित पक्षसँग अनुरोध गरिएको छ।
आदिवासीहरु मुख्यतः अभौतिक सम्पदाका मालिक भए पनि पछिल्लो समय विजयपुर क्षेत्रलगायत स्थानमा संरचना निर्माण गर्ने होडबाजी चलिरहेको अपिलपत्रमा उल्लेख छ।
एउटा पक्षले निर्माण गर्न खोज्ने र अर्को पक्षले हटाउन खोज्ने प्रवृत्तिले राई र लिम्बू समुदायबिच द्वन्द्व सिर्जना भएको भन्दै अगुवाहरुले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।
अपिल–पत्र



