विजयपुर दरबार परिसर संरक्षण संघर्ष समितिले किरात राई यायोक्खाले विजयपुर दरबार परिसरमा आफ्नो झन्डा गाडेकोमा आपत्ति जनाएको छ।
समितिका अध्यक्ष तीर्थ मादेम्बाले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै यायोक्खाले विजयपुरमा झन्डा गाडेको विषयमा विरोध जनाएका हुन्।
उनले यायोक्खा अध्यक्ष नेतृत्वको टोलीले विजयपुर दरबारलाई लिएर ‘अनुपयुक्त र भद्दा टिप्पणी’ गरेकोमा समेत आपत्ति जनाएका छन्।
यायोक्खाले तीन वर्षअघि विजयपुर दरबार क्षेत्रमा वाबु (चिन्डो) को प्रतीक राखेकाे थियो।
विजयपुर लिम्बूहरूको मात्रै ऐतिहासिक विरासत रहेकोले सो क्षेत्रबाट राईहरूको वाबु हटाउनुपर्ने भन्दै किरात याक्थुङ चुम्लुङका जिम्मेवार व्यक्तिहरूले सामाजिक सञ्जालमार्फत कडा अभिव्यक्ति दिएका थिए।
सोही क्रममा गत जुलाई २७ मा उक्त वाबु उखेलेर फ्याँकिएको थियो।

यायोक्खाले वाबु पुनःस्थापना हुनुपर्ने माग राख्दै आएको छ भने चुम्लुङले त्यसलाई ‘सांस्कृतिक अतिक्रमण’ भन्दै विरोध गरिरहेको छ।
यसैबीच गत शनिबार यायोक्खा अध्यक्ष जीवन हाताचो राईसहितको टोलीले विजयपुरको निरीक्षण गर्दै वाबु उखेलेर फ्याँकिएको ठाउँमा यायोक्खाको झन्डा गाडेको थियो।
तर, आफूहरू छलफल र संवादमार्फत नै विवाद समाधान गर्ने पक्षमा रहेको समितिले जनाएको छ।
साथै, समितिले २०७४ जेठ २९ गते सर्वोच्च अदालतले ‘सांस्कृतिक तथा ऐतिहासिक सम्पदा नष्ट हुने गरी कुनै पनि निर्माण कार्य नगर्नु/नगराउनु’ भनी जारी गरेको आदेश यायोक्खालाई स्मरण गराएको छ।
