kulman ghising and harka sampang

धरान उपमहानगरका मेयर हर्क साम्पाङले ऊर्जासहित तीन मन्त्रालयकाे जिम्मेवारी पाएका मन्त्री कुलमान घिसिङसँग केही दिनअघि काठमाडाैंमा भएकाे भित्री कुराकानी सार्वजनिक गरेका छन्।

साम्पाङका अनुसार, कुराकानीका क्रममा घिसिङले भनेका थिए– ‘यस्तो अवस्था छ, काम गर्न सकिन्न। अलिकति भएको इजेम पनि खत्तम होला। म सरकारमा जान्न। बाहिरै बसेर सहयोग गर्छु।’

गत १२ सेप्टेम्बरमा घिसिङकै घरमा भएको एक घण्टाको छलफलमा देशको विषम परिस्थितिमा सँगै मिलेर जाने सहमति भएको थियो।

छलफलपछि उनीहरूले संयुक्त पत्रकार सम्मेलन पनि गरेका थिए।

घिसिङले जेनजी पुस्ताका प्रतिनिधिहरूसँग पनि छलफल गरी जस्तोसुकै परिस्थितिमा साम्पाङसँग एक भएर जाने बताएका थिए।

लोडसेडिङ अन्त्य गरेर वाहवाही पाएका घिसिङ र साम्पाङले मिलेर एउटै दल बनाउने तयारीसमेत गरेका थिए।

साम्पाङ र घिसिङले एउटै दल खाेल्ने गरी आधारभूत सहमति गरेर संयुक्त पत्रकार सम्मेलन गरेपछि साम्पाङका सहयाेगी समिर तामाङले ’याे देख्न ठुलाे आवश्यक थियाे आज भयाे’ भन्दै एक तस्बिर फेसबुकमा पाेस्ट गरेका थिए।

तर, जेनजी आन्दोलनपछि अन्तरिम सरकारको प्रधानमन्त्री बनेकी सुशीला कार्कीले घिसिङलाई मन्त्री बन्न आग्रह गरिन् र, घिसिङले ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयकाे जिम्मेवारी स्वीकार गरे।

घिसिङ कार्की नेतृत्वकाे सरकारमा जाने पक्का भएपछि मेयर साम्पाङले उनलाई फोन गरे। तर, उनले फोन उठाएनन्।

लगत्तै साम्पाङले सामाजिक सञ्जालमा प्रतिक्रिया जनाए– ‘कुलमानजीको फोन उठ्दैन तौ।’

साम्पाङकाे याे स्टाटसले दुई दिन अघिको सहमति बिग्रिएकाे संकेत गर्दथ्याे।

आइतबार (२१ सेप्टेम्बर) मेयर साम्पाङले घिसिङसँगको एक घण्टाको भेटमा भएको कुरा सामाजिक सञ्जालबाट सार्वजनिक गरेका हुन्।

सरकारमा जान्न भनेका घिसिङ २४ घण्टा नबित्दै सरकारमा गएकाे र उनकाे सहयोगीले ‘तीन मन्त्रालयको जिम्मेवारी पाइयो’ भनेर प्रतिक्रिया दिएको साम्पाङको स्टाटसमा उल्लेख छ।