खोटाङ– धरान उपमहानगरका मेयर हर्क साम्पाङले ‘पेटका लागि श्रम र देशका लागि श्रमदान’ गर्नुपर्ने बताएका छन्।

मंगलबार जन्मथलो खोटाङ आएका साम्पाङले सबैले पेटका लागि श्रम गरे पनि देशका लागि श्रमदान नगरेकाले देशमा विकास हुन नसकेको बताए।

उनले भने, ‘श्रम त खोटाङेलाई सिकाउनुपर्दैन, तर श्रमदान चाहिँ सबैले सिक्नु र सिकाउनुपर्ने रहेछ भन्ने बुझेर हामीले अहिले श्रमदान अभियान चलाइरहेका छौं।’

देशका लागि श्रमदान गर्न छोडेर ठेकदार, नेता र मन्त्रीले विकास गरिदिन्छ भन्ने आशामा बसेकाले नै आज देश विकासमा पछि परेको उनले बताए।

देश ठेकदारले बनाइदिन्छ, नेताले बनाइदिन्छ, मन्त्रीले बनाइदिन्छ भन्ने आशामा बसेका कारणले विकासमा हामी पछि परेका रहेछौं।

उनले भने, ‘हामीले देशका लागि काम गर्न छोडेछौं। देश ठेकदारले बनाइदिन्छ, नेताले बनाइदिन्छ, मन्त्रीले बनाइदिन्छ भन्ने आशामा बसेका कारणले विकासमा हामी पछि परेका रहेछौं।’

श्रम संस्कृति पार्टीको संगठन विस्तार गर्ने उद्देश्यले खोटाङ आइपुगेका साम्पाङले भने, ‘देशका लागि व्यवस्थित रूपमा काम गरौँ भनेर हामी अहिले संगठन निर्माणमा छौं। तपाईंहरू पनि देशका लागि काम गर्न चाहनुहुन्छ भने सँगै काम गरौँ भन्ने अनुरोध गर्न आएको हुँ।’

सो क्रममा उनले आफू खोटाङको खार्तम्छामा जन्मिएर एसएलसीसम्म पढेपछि धरान झरेको बताए।

‘म खोटाङकै मान्छे हो, खार्तम्छामा मेरो जन्म भएको हो। मैले एसएलसीसम्म यहीँ पढेँ, त्यसपछि धरान झरेँ,’ उनले भने, ‘म वर्षमा एकपटक पुख्र्यौली घर जन्मस्थल आउँछु।’

उनले खोटाङमा पनि पार्टीको संगठन छिट्टै निर्माण गर्ने उद्देश्यले तिहारको बिदामा गाउँ आएको बताए।

उनले भने, ‘छिटो काम गर्ने टिम बनाउनुपर्छ, के छ कसो छ भनेर बुझ्न आएको हुँ।’

हाल श्रम संस्कृति पार्टी निर्वाचन आयोगमा दर्ता प्रक्रियामा रहेको छ।

आयोगले यही कात्तिकभित्रै प्रक्रिया पूरा गरी दलको प्रमाणपत्र दिने आश्वासन दिएको साम्पाङले पत्रकारहरूसँग बताए।

खाेटाङमा उनलाई उनका पार्टीका जिल्ला संयोजक प्रताप राईसहित समर्थकहरूले स्वागत गरेका थिए। मेयर साम्पाङ बुधबार खोटाङकै बाक्सिला पुग्ने कार्यक्रम तय भएकाे छ।