थामी, हायु, सुरेल र जिरेल समुदाय पनि औपचारिक रूपमै किरातभित्र संगठित भएका छन्।

यसअघि राई, लिम्बु, याक्खा र सुनुवार समुदायले मात्रै आफूलाई किराती भन्दै आएका थिए।

थामी, हायु, सुरेल र जिरेल समुदायका जातीय संस्थाका प्रतिनिधिसहितको किरात समन्वय समितिले किरातीहरूको साझा संवत् ५०८६ को अवसरमा बिहीबार यले संवत् (नयाँ वर्ष) तथा कक्फेत्वा तङ्नाम र माघे सङ्क्रान्तिको शुभकामना सन्देश जारी गरेको हो।

शुभकामना सन्देशमा किरात याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम येक्तेन, किरात राई यायोक्खाका अध्यक्ष जीवन हाताचो राई, सुनुवार सेवा समाजका अध्यक्ष अमृत सुनुवार, किरात याक्खा छुम्माका अध्यक्ष भुपालसिंह जिमी, थामी समाजका अध्यक्ष रणबहादुर थामी, हायु एकता समाजका अध्यक्ष लक्ष्मण हायु, सुरेल समाजका अध्यक्ष सुवास सुरेल र जिरेल संघ नेपालका अध्यक्ष हिरा जिरेलको हस्ताक्षर छ।

उनीहरूले पल्लो किरात लिम्बुवान भूमिको मुक्कुमलुङमा केही धनाढ्य व्यापारीहरूको स्वार्थमा निर्माण गर्न खोजिएको केबलकार तत्काल खारेज गर्नुपर्ने तथा ‘कोशी’ नाम खारेज गरी पहिचानको आधारमा पुनः नामकरण गर्नुपर्ने मागसहितको आफ्नो संघर्षले विजय प्राप्त गर्ने विश्वास पनि व्यक्त गरेका छन्।