किरात राईहरूमा मूर्ति परम्परा भेटिँदैन। पुराना चौतारोका ढुङ्गामा अक्षरसँगै भेटिने जून–घाम आदिका आकृतिभन्दा अरु केही भेटिएका छैनन् पनि। सायद यही कारणले किरातीहरूको संस्कृति र मनोविज्ञानमा काल्पनिकता कम र प्राकृतिक/वास्तविकता बढी भेटिन्छ।
तर पछिल्लो क्रममा यलम्बर, पारुहाङ–सुम्निमा, हेछाकुप्पा (रैछाकुले), तोयामा–खियामा, वाबु आदिका मूर्ति बनाउने क्रम तीव्र भएको छ।
किरात मुन्दुम/मिथकले सुम्निमा–पारुहाङलाई मानवरूप मानेको छैन। तर हाल विभिन्न स्थानमा सुम्निमा–पारुहाङ भन्दै फरक–फरक मानव आकृतिका मूर्तिहरू ठड्याइएका छन्।
यलम्बरलाई प्रागऐतिहासिक कालीन नेपालको राजा मानिएको छ। तर यलम्बर कस्ता थिए, के लगाउँथे, कस्ता हतियार भिर्थे भन्ने कुनै प्रमाण छैन। अचेल यलम्बर भन्दै अनेक थरीका फोटो र मूर्तिहरू बनिरहेका छन्।
वाबुक (चिण्डो) मुन्दुमी कार्यका लागि अनिवार्य वस्तु हो। चिण्डोको प्रयोग स्वस्थकर मात्र होइन, अन्न र पानीजन्य वस्तुको भण्डारणका लागि उपयुक्त मानिन्छ।
चिण्डोमा राखिएको अन्नमा किरा नपर्ने र रक्सी लगायतका पेय पदार्थ लामो समयसम्म राख्दा पनि नबिग्रने हुन्छ। आजकाल सौन्दर्य/पहिचानजनित संकेतको रूपमा सानो आकारको चिण्डो छातीमा झुन्ड्याउने चलन पनि छ। छातीमा झुन्ड्याइने सानो चिण्डो चीनबाट आयात गरिने रहेछ।
मूर्तिको कथित उद्घाटन जस्ता अनावश्यक कार्यक्रमहरू गरिनु समय, स्रोत र मानवीय ऊर्जाको दुरुपयोग हो।
मुन्दुमी कार्यमा अनिवार्य भएको, भण्डारणका लागि उपयुक्त देखिएको र सौन्दर्य सामग्रीका रूपमा समेत प्रयोग हुने चिण्डोको उत्पादन भने कम छ। चिण्डोको व्यवसायिक उत्पादन र बजारीकरणले आम्दानीसँगै रोजगारी पनि सिर्जना गर्छ। तर अहिले चिण्डोको मूर्ति बनाउने होडबाजी चलिरहेको छ।
अन्त्यमा,
मूर्ति परम्परा कलाकारिता मात्र होइन, इतिहासको संरक्षण र वर्तमानको ऐतिहासिकरण पनि हो। तर मूर्ति केको बनाउने भन्ने कुरा प्रमुख हो।
मिथ, विश्वास र परम्पराहरूलाई नै अपव्याख्या, अनादर र भ्रम सिर्जना गर्ने गरी बनाइने मूर्तिले पहिचानको सम्मान होइन, अपमान गर्छ।
अझ मूर्तिको कथित उद्घाटन जस्ता अनावश्यक कार्यक्रमहरू गरिनु समय, स्रोत र मानवीय ऊर्जाको दुरुपयोग हो। समय, स्रोत र मानवीय ऊर्जा दुरुपयोग गरिने कार्यक्रममा विवाद सिर्जना हुनु त झन् बौद्धिक टाट पल्टाइ हो।
खोटाङको बुइपामा किरातीहरूको विश्वासमाथि खेलबाड गर्दै र राज्यको स्रोत दुरुपयोग गर्दै बनाइएको यलम्बर नाम दिइएको मूर्ति उद्घाटन गर्ने कार्यक्रम एक समूहले बैशाख १८ गते राखेको छ।
तर नगरपालिकाले १७ गते नै उद्घाटन गर्ने भनेर सूचना जारी गरेको छ। विश्वाससँगै आम मानिसहरूलाई अल्मलाउने र विभाजित गर्ने काम नगर्न दुवै पक्षलाई आग्रह छ।
बनिसकेको मूर्ति भत्काउनुस् भन्दिन तर उद्घाटन गरिनुको खास औचित्य छैन। अझै उद्घाटनमा विवाद सिर्जना गर्नु गलत छ। त्यसैले दुवै पक्षले निर्धारित कार्यक्रम स्थगित गर्नु राम्रो हुनेछ।
तपाईं संसद र पालिकाका जनप्रतिनिधिहरूलाई आग्रह छ- यदि किराती इतिहास, सभ्यता, संस्कृति र मनोविज्ञानको विषयमा काम गर्ने मन छ भने अनुसन्धाताहरूलाई गाउँ–गाउँ पठाउनुस्। किराती भाषाहरू पढ्ने/पढाउने विद्यालयहरू खोल्नुस्। दैनिक कार्यमा किराती भाषाहरू प्रयोगमा ल्याउने निर्णय गर्नुस्। किरातीहरूको खाद्य संस्कृतिलाई व्यवसायिक बनाउने वातावरण बनाउनुस्।
स्राेतः इन्द्र नारथुङेकाे फेसबुकबाट।

