काठमाडौँ । सुदन किराती श्रम संस्कृति पार्टी (श्रसपा) मा प्रवेश गरेका छन् ।
प्रगतिशील लोकतान्त्रिक पार्टी परित्याग गरेका पूर्वमन्त्री किराती बिहीबार राति श्रसपामा वरिष्ठ नेताको भूमिकासहित प्रवेश गर्ने सहमतिमा पुगेका हुन् ।
दुवै पक्षबीच भएको सहमतिअनुसार किरातीनिकट केही व्यक्तिलाई पनि श्रसपाको केन्द्रीय सदस्य बनाइने बताइएको छ ।
आगामी प्रदेशसभा निर्वाचनमा श्रसपाबाट कोशी प्रदेशको मुख्यमन्त्रीको दाबीसहित किराती पार्टीमा आबद्ध भएको स्रोतले जनाएको छ ।
किराती र हर्क साम्पाङ बीच सहकार्य गराउन अभिनेता दयाहाङ राई ले समेत पहल गरेको चर्चा छ । पटक–पटकको वार्ता र छलफलपछि दुई पक्षबीच सहमति जुटेको बताइएको छ ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा किरातीले सुनसरी, खोटाङ र भोजपुरमा श्रसपालाई समर्थन गरेका थिए । त्यसयतादेखि नै उनी श्रसपामा प्रवेश गर्ने चर्चा चलिरहेको थियो ।
श्रसपाकी मिना सिङ्गक का अनुसार किरातीसँग पार्टी एकता भएको हो । यसबारे जानकारी दिन आज शुक्रबार दिउँसो ३ बजे काठमाडौँको हार्दिक होटल मा पत्रकार सम्मेलन आयोजना गरिएको छ ।
श्रसपाका प्रवक्ता सत्य गुरुङ ले पनि सामाजिक सञ्जालमार्फत किरातीलाई स्वागत तथा बधाई दिएका छन् ।
