नेपालकै सबैभन्दा होचो पालिका मुखियापट्टी मुसहरनीया जसपामय बनेको छ ।

जनता समाजवादी पार्टी जिल्ला समन्वय समिति धनुषाले आइतबार मुखियापट्टीको बैरिया बजारमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा काँग्रेसको प्रभावशाली युवा नेता जयकुमार यादवको नेतृत्वमा काँग्रेस र नेकपा एमालेका हजारौ नेता कार्यकर्ता जसपा प्रवेश गरेपछि मुखियापट्टी मुसहरनीया जसपामय बनेको हाे ।

जयकुमार यादवको नेतृत्वमा मुखियापट्टी मुसरहनीयाका विभिन्न वडाहरुबाट जसपा प्रवेश गरेका नेता कार्याकर्तालाई जसपाका अध्यक्ष उपेन्द्र यादव लगायतका शीर्ष नेताहरुले गम्छा लगाएर स्वागत गरेका थिए ।

साे क्रममा अध्यक्ष यादवले सदियौदेखि विभेदमा रहँदै आएको मधेशी, जनजाति, मुस्लिम, महिला लगायतलाई हक अधिकारबाट अब कसैले बंचित गर्न नसक्ने बताए ।

यादवले मुलुकमा भएका ठूलाठूला आन्दोलनहरुले शासक मात्र परिवर्तन गर्दै आए पनि मधेश विद्रोहले शासन व्यवस्था नै परिवर्तन गरेको उल्लेख गर्दै शोषित उत्पीडित समुदाय अब अधिकार सम्पन्न हुनेमा आफू विश्वस्त रहेको बताए ।

जसपाका कार्यकारिणी सदस्य एवम् संघीय सरकारका भौतिक पूर्वाधार एवम् यातायातमन्त्री रेणुकुमारी यादवले वर्षाैदेखि विभेदमा रहेको मधेशीहरु मधेश विद्रोहको कारण आज सम्मानपूर्वक जीवनयापन गर्न थालेको बताइन् ।

मधेश आन्दोलनकै कारण शोषित वर्गहरु आज आरक्षण पाएको उल्लेख गर्दै उनले मुखियापट्टी मुसरहनीयाका जनताले जसपाप्रति देखाएको आशा र विश्वासलाई आफूहरुले सदैव सम्मान गर्ने बताइन् ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले शोषित पीडित वर्गको आशा भरोसाको केन्द्र जसपा मात्र रहेको दावी गरे ।

उनले मधेश आन्दोलनको जगमा बनेको जनता समाजवादी पार्टीको सरकार मधेश आन्दोलनको म्याण्डेट अनुसार अघि बढेको बताउदै प्रदेश सरकारले पीडित वर्गको लागि काम गरिरहेको बताए ।

पार्टी प्रवेश गर्नेहरुमा नेपाली काँग्रेसका वडा सभापति रविन्द्र प्रसाद यादव छोटे, शशिचन्द्र यादव, वडा नं ५ का काँग्रेस वडा सभापति राम एकवाल यादव, वडा अध्यक्षका प्रत्याशी कैलाश यादव, वडा नं ६ का प्रत्याशी विनोद यादव, एमालेका रामधनी यादव, निर्वाचित वडा सदस्य राम नन्दन महतो सहितका रहेका थिए ।