जसरी पानी बग्छ, पानीकाे मुहान हुन्छ। खोला नदीकाे पनि शिर वा मुहान हुन्छ। जसकाे स्राेत पहाड, जङ्गल र हिमालय पर्वतसँग जोडिएको हुन्छ।
त्यस्तै भाषा, संकृति, रीतिरिवाज र चाडपर्वहरूकाे पनि आ-आफ्नै उत्पत्ति, गर्भ, सुरुवाती, इतिहास, महत्त्व र विशेषताहरू हुन्छन्। त्यसकाे सामाजिक र सांस्कृतिक विकासकाे आयामहरूसँग जोडिँदै जोडिँदै इतिहास र सभ्यतासँग जाेडिन पुग्छ।
त्यस्तै अहिले हामी, अहिलेकाे यो शरद् ऋतुमा सधै मनाइने दसैँ पर्वकाे सम्मुखमा छौँ, जसको बारेमा छोटो चर्चा गराै।
विषयवस्तु प्रवेश गर्नुभन्दा पहिले हाल दसैँ पर्वको विषयमा कसले मनाउने, कसले नमनाउने भन्ने मत भिन्नताहरू प्रशस्त छन्। यसकाे अर्थ यो समाजमा दसैँ मनाउनेहरू पनि छौँ, नमनाउनेहरू पनि छौँ।
यस लेख दसैँकाे उत्पत्ति वा गर्भ कतातिर देखिन्छ? दसैँ सांस्कृतिक पर्वकाे रुपमा कसरी विकास भयाे? यो सांस्कृतिक चाड हो कि धार्मिक चाड हो? भन्ने कुरामा बढी केन्द्रित छ। र, किन यो विषयमा अहिले नै लेख्नुपर्यो त? भन्ने सवालमा, भन्नलाई राज्यले पनि दसैँ पर्व सम्पुर्ण नेपालीहरूको साझा पर्व हो भनेको छ। तर मुस्लिम र बुद्धिष्ट धर्मावलम्बीहरू पनि यो राष्ट्रकै नागरिक हुन्। तर मेरो चेतनामा ती समुदायले पहिलेदेखि नै दसैँ मनाउँदैनन्, सामाजिक र सामुदायिक सद्भावको रूपमा सम्मान भने गर्छन्।
सङ्ख्यात्मक गणनामा चलेको यो व्यवस्थाकाे मुख्य सार अनुसार यो पर्व राष्ट्रिय चाड भयो कि भएन? त्यो बेग्लै कुरा हो। तर यो देशको लामो इतिहाससँग जोडिएको किराती समुदायको अग्रज र विद्वानहरूको बिचमा चाहिँ दसैँ पर्वकाे बारेमा मत भिन्नताहरू देखिन्छन्।
एकखाले विद्वानहरूको मत छ- दसैँ आदिवासी किरातीहरूको चाड हो। र अर्कोथरीकाे मत छ- दसैँ पर्व गैरकिराती हिन्दुहरूकाे हो। किरातीहरूले मान्नुपर्छ र मान्नुहुँदैन भन्ने त्यो स्तरको मत विभाजन, त्यो स्तरको बहस र मत भिन्नताहरू अहिले तल सामाजिक स्तरमै अलिक पेचिलो बहसको बिषय बन्दै गइरहेकाे अवस्थामा मैले यस बिषयमाथि केही प्रश्न र जिज्ञासाहरू राख्दै लेख्न परेको हो।
दसैँ किरातीहरूको हो भन्ने पक्षधरको तर्कबाट नै बिषयलाई अगाडि बढाउँ।
१) वहाँहरूको तर्क छ- कृषि युगमा प्रवेश गरेसँगै किरातीहरूले चामलकाे टीका लगाउने परम्परा सुरु भएको हुनाले दसैँ किरातीहरूकाे पर्व हो। तर मलाई लाग्दछ यो गलत तर्क हो। चामलको टीका किरातीहरूको पेवा हुन सक्दैन।
किनकी कृषि युग स्थापित सबै समुदायले पार गरेरै आएका हुन्। कृषि युगलाई स्विकार गरेरै हरेक सभ्यता र समाज अहिले ब्यवस्थित भएका हुन्। तसर्थ, सबैले खेतीपाती गरेकै हुन्। फरक यति हो कसैले अलि अघिबाट गरे, कसैले अलि पछिबाट गरे।
राउटेले कृषि युग स्विकार नगरेको हुन सक्दछ। त्यसैले उ जङ्गलमा छ। यहाँ चामलको टीका मात्र होइन दहीसँग मुछेर लाउने हुनाले पशुपालनको बिकास पनि जोडिएको छ। पशुपालन र दही कुन समुदाय र कुन संस्कृतिसँग बढी नजिक छ?
त्यस्तै तर्क किरातीको तर्फबाट गर्ने हो भने त हिन्दु संस्कृति अनुसार पुजा, पुराण, जाप, श्राद्दमा टपराभरि चामल, पैसा, रोटी, टपरा पिच्छे चामल र पञ्चाम्रित र प्रसादको टीकामा चामलको पिठो प्रयोग गर्छन्। चामलको प्रयोग भएको सबै चिज हाम्रो हो भनेर दाबी गर्ने हो र? अनि रुख र जरा चाहिँ उसकाे पात चाहिँ मेरो भने जसरी सम्पुर्ण सांस्कृतिक मुल्य मान्यता हिन्दु धार्मिक दर्शनले स्थापित गरेको संस्कृतिको निर्देशनमा दसैँको सुरु र अन्त्य हुन्छ। तर चामलको टीका प्रयोग हुने हुदा त्यो किरातीको हो भन्ने दाबी कत्तिकाे जायज र तर्कसंगत छ?
२) अर्को तर्क छ- किरातीले सेतो टीका लाएर भिन्नता छ। तर सेतो टीका लाउनु र रातो टीका लाउनुमा केही भिन्नता छैन। उही तिथि, उही मिति, उहीँ साइत पारेर उही नवदुर्गा भवानीले सबैको रक्षा गरून् भनेर लाए पनि, श्लाेक भट्याएर लगाए पनि, बिरोधका शब्द बोलेर लाए पनि, चुप लागेरै लगाए पनि, टीकाको रङ फेरेर लाए पनि थोत्रो लुगा लाएर मनाए पनि नयाँ लुगा लगाएर लाए पनि त्यसकाे सांस्कृतिक, ऐतिहासिक, राजनीतिक र बैचारिक मुल्य र मान्यतालाई के फरक पर्छ? केही फरक पर्दैन।
त्यसकारण, सेतो टीका र रातो टीकाको रङले दसैँकाे ऐतिहासिक र वैचारिक राजनीतिक मूल्यलाई स्विकार गरेकै ठहर हुन्छ।
३) अर्को कुरा ठुलोद्वारा सानोले आशीर्वाद लिने परम्परा किरातीको संस्कृति हो भन्ने तर्क छ। यो तर्क सुन्दा ठिकै लागे पनि यसको प्रयोगमा फरक छ।
यस कारण दसैँको सन्दर्भमा यो गलत छ। हिन्दु समुदायको सामाजिक, सांस्कृतिक र धार्मिक शिक्षा गुरुकुल शिक्षामा आधारित हुन्छ। हिन्दुहरूले पनि आमा, बुवा र गुरुलाई सर्बोच्च स्थानमा नै राख्दछ। म त भन्छु आशीर्वाद शब्द नै किरातीको हैन। आशीर्वाद शब्द हिन्दु संस्कृतिद्वारा स्थापित हो। र, त्यही समुदायमा आशीर्वाद शब्द बढी प्रयोग हुन्छ। त्यसैले हेर्दा राम्रो लागेर यहाँ भावना हाबी भएको हुनाले यस्तो तर्क गरिएको हुन सक्दछ। यो बिषयमा तथ्यहरूकाे स्थान हुन्छ, भावनाको स्थान हुँदैन।
दसैँ पर्वकाे सांस्कृतिक सिलसिला
क) यो पर्व दसैँकाे तीन दिनलाई मात्र हेरेर पुग्दैन। वास्तबमा दसैँको सुरुवात सोह्र श्राद्धबाट हेर्नु पर्दछ। त्यसैले, सांस्कृतिक हिसाबले दसैँ सोह्र श्राद्धको सांस्कृतिक तथा धार्मिक जगमा उभिएको देखिन्छ।
श्राद्ध हिन्दु आर्य धार्मिक समाजले गर्ने धार्मिक तथा सांस्कृतिक कर्मकाण्ड हो। खोलाको किनारमा गएर आफ्नो निक्कै पुराना पुस्ताको मृत पितृआत्माहरूलाई पानी तर्मण गरेर पिण्ड चढाउने समय अवधीलाई सोह्र श्राद्ध भनिन्छ।
वहाँहरूको तर्क छ- कृषि युगमा प्रवेश गरेसँगै किरातीहरूले चामलकाे टीका लगाउने परम्परा सुरु भएको हुनाले दसैँ किरातीहरूकाे पर्व हो। तर मलाई लाग्दछ यो गलत तर्क हो।
सोह्र श्राद्ध सकिएपश्चात घटस्थापना सुरु हुन्छ। जहाँ विशेष गरी जौँ, मकै जस्ता अन्नको जमरा उमार्ने प्रकृया सुरु हुन्छ। र, अब नवदुर्गा भवानीको महिमा अनुष्ठान भजन कीर्तन र आरधाना गरेर नवरात्रीमा प्रबेश गरिन्छ। र नवरात्रीको अन्तिम तीन दिन धुमधामले बलि पुजा गरिन्छ।
अनि दशमीको दिन टीका जमरा लगाएर विजय दशमी मनाइन्छ। यो सिलसिला कोजाग्रत पुर्णिमासम्म चल्छ। अनि दसैँ सकिन्छ। अनि तिहारमा प्रबेश हुन्छ। र तिहारसँगै हिन्दु धार्मिक चाडपर्वहरूकाे बिट मारिन्छ।
ख) दसैँ पर्वकाे इतिहास, समय र तिथिमितीको सन्दर्भमा यसकाे इतिहास भारतको दशहरासँग जोडिएको छ। जुन भारतीय हिन्दु धार्मिक समुदायसँग जोडिएको छ।
नेपाली हिन्दु र भारतको हिन्दु धर्म र सभ्यता एउटै हो। त्यसैले दसैँ शब्द संस्कृत भाषाको दशमी अथवा दशहराबाट आएको हो भन्ने कुरा छ। जहाँबाट आए पनि दुवै हिन्दु सभ्यताबाट नै आएको र स्थापित भएको मान्नु पर्दछ।
त्यसो हुँदा दसैँ किरातीहरूकै पर्व हो भन्ने हो भने दसैँ शब्दको किराती नाम के हो? कसरी यो नाम रह्यो? प्रमाणसहित किरातीहरूकै भाषाबाट उत्पत्ति भएको हो भनेर तथ्य र प्रमाणसहित दाबी गर्नुपर्यो। कि दसैँको अर्को किराती नाम के छ ? त्यो ल्याउनु पर्यो, नत्र चाड किरातीको नाम हिन्दुको कसरी हुन सक्छ?
ग) दसैँ पर्वकाे समय अवधीभरि हिन्दु देवीदेवता र शक्तिपिठहरूमा देवीको अनुष्ठान र भजन कीर्तन गर्ने र बलि दिने परम्परा छ। यो सांस्कृतिक कर्मकाण्ड र देवीदेवता सँग मुन्धुम र किरातीहरूकाे के साइनो सम्बन्ध र सराेकार छ?
नभए दसैँ विशेष मुन्धुमी संस्कृति पहिचानजन्य सांस्कृतिक कार्यक्रम के के छन्? र कुन कुन दिन कुन सन्दर्भमा गरिन्छ? त्यो तथ्यगत ढङ्गले प्रस्तुत गर्नुपर्यो। ताकि, तिनले दसैँ किरात सभ्यतामा आधारित संस्कृतिसँग निकट देखाओस्, तब सोच्ने कुरा रह्यो।
घ) दसैँको जमरामा अनिवार्य जौ राखिन्छ। तर तिल र जौ अधिकांश मुन्धुमी कर्मकाण्डहरूमा वर्जित छन्। त्यति मात्र होइन, हिन्दुहरूको हरेक धार्मिक र सांस्कृतिक कर्मकाण्डमा तिल र जौ अनिवार्य समावेश गरिन्छ।
किरात र हिन्दु आर्य सभ्यता यी दुई अलग सभ्यता बिचकाे विपरीत मूल्य-मान्यतामा स्थापित भएको यो एक यथेष्ट प्रमाण हो। जुन कुराहरूका अनुसार पनि दसैँ हिन्दु धार्मिक तथा सांस्कृतिक मान्यतातर्फ ढल्किरहेको तथ्यहरू देखा पर्दछन्। यस अर्थमा दसैँ किराती सभ्यताले स्थापित गरेको हो भन्ने दाबी कसरी गर्ने?
ङ) मुख्य विजय दशमीको दिन टीकाको साइतमा टीका लगाउने बेला भनिने श्लाेक;
आयुर्द्रोणसुते श्रियो दशरथे शत्रुक्षयो राघवे।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च दुर्योधने॥
दानं सूर्यसुते बलं हलधरे सत्यञ्च कुन्तीसुते।
विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे॥
यी पङ्तिहरू संस्कृत भाषामा नै भन्ने गरिन्छ। अझ दसैँमा टीका लगाउने किरातीहरूले पनि यही श्लाेक बोलेर टीका लगाएको देखिन्छ। दसैँ किरात समुदायले स्थापित गरेको हो भने किन यो श्लाेक संस्कृत भाषामै भनिन्छ?
मानौं, दसैँ किरातीहरूको संस्कृति नै हो भने माथिका पङ्तिहरू पछि समावेश भएको हुन सक्दछ। तर, किराती भाषामा बोलिने सक्कली पुराना केही पङ्तिहरू पनि हुन सक्दछन्। ती कस्ता थिए? र कसले बोल्थे?
च) दसैँ शब्दको उत्पत्ति दशहरा, र संकृत शब्दको दशमी तिथिबाट आएको भन्ने छ। अब किराती सभ्यताबाट स्थापित भएको दसैँ हो त्यसैले हाम्रो हो भने यसलाई दाबी गर्नको लागि ऐतिहासिक तथ्यहरु के-के छन्?
दशहरा र दशमीबाट दसैँ भयो भन्ने दाबीलाई किरातीहरूले होइन, मुन्धुमी समाजद्वारा विकास भएको चाड हो, दसैँको नाम यो हो भनेर कसरी पुष्टि गर्ने? किरातीहरूले दसैँलाई के भन्छन्? दसैँको किराती नाम के हो?
७) किरातीहरूको मौलिक चाड हो भने किरातीहरूको मुन्धुमी परम्पराअनुसार नै दसैँ मनाइनुपर्ने, तर मुन्धुमी परम्पराअनुसार त दसैँ मनाइँदैन, कि मुन्धुमी परम्पराअनुसार नै?
८) किरातीहरूको इितहास, परम्परा र मूल्य-मान्यताहरू लोककथाहरूमा हुन्छन्। सांस्कृतिक परम्परा तथा धामी-पुर्खाहरूले बोल्ने रिसिया मुन्धुमहरूमा हुन्छन्।
त्याे दसैँ शब्द कहाँ परेको छ? किराती लोककथामा दसैँकाे कुनै कथा छ? मुन्धुमी सांस्कृतिक परम्पराकाे लय समात्ने गरी दसैँ किरातीहरूको मौलिकतामा आधारित छ? अनि, धामी या पुर्खाबाट भनिने रिसियामा कुनै समय र सन्दर्भमा दसैँ शब्द उच्चारण भएको छ? भएकाे छ भने कुन किरात राई समुदायमा छ? मलाई चाहिँ जानकारी छैन।
९) दसैँको टीका र जमरा गोरखा राज्यबाट काठमाडौँ ल्याइन्छ। यो विषयसँग मुन्धुममार्गी समाजको के सम्बन्ध छ? ऐतिहासिक, राजनीतिक तथा सांस्कृतिक मूल्य-मान्यता साथै सभ्यताको जुइनो किरात र गोरखा बिच किन, कहिलेदेखि र कसरी जोडियो? त्यो पनि बताउनुपर्दछ।
निष्कर्ष
निष्कर्षमा हामी के भन्न सक्छौ भने दसैँ चाडप्रति हाम्रो विराेध र समर्थन हाेइन। दसैँ सबैले मनाउन सक्छन्, टीका लगाउन सक्छन्, नलगाउन पनि सक्छन्।
तर, दसैँ याे समाजमा मनाइन्छ। यस अर्थमा स्विकार गर्नु पनि पर्दछ।
तर, त्यसको इतिहास के हो? कुन सभ्यता र समुदायद्वारा स्थापित गरिएकाे चाड हो? त्यसकाे ऐतिहासिक, सांस्कृतिक, सामाजिक, बैचारिक र राजनीतिक महत्व के छ? त्यसको सांस्कृतिक र राजनीतिक फाइदा कुन वर्ग र कुन समुदायलाई पुगिरहेको छ भन्ने कुरा राम्ररी बुझेर, थाहा पाएर मात्रै मनाउनुपर्दछ भन्ने कुरा हाे।
यति भनेपछि मलाई लाग्छ माथिको किराती सांस्कृतिक पर्व हो भन्ने दाबी र हैन भन्ने दाबीलाई पक्ष र विपक्षमा राखेर गरिएका तर्कबितर्कहरूलाई विश्लेषण गर्दा, दसैँ एउटा हिन्दु आर्य धार्मिक समुदायको सांस्कृतिक पर्व हो। जुन पर्वकाे सांस्कृतिक तथा धार्मिक रचना गर्भ हिन्दु आर्य धार्मिक सभ्यता र समाजतर्फ नै बढी ढल्किएको प्रष्ट देखिन्छ। र, यसको राजनीतिक, धार्मिक, सांस्कृतिक र बैचारिक फाइदा पनि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा त्यही समुदायलाई भइरहेको छ भन्न सकिन्छ।
यी तर्कहरू अकाट्य हुन भन्ने मेरो दाबी हैन। यी भन्दा सत्य तथ्य तर्कहरूसम्म पुग्ने प्रयत्नमा यिनको पनि भूमिका रहन्छ कि भन्ने कुरा हो। र अन्तिम सत्यलाई सबैले स्विकार पनि गर्नु पर्दछ भन्ने कुरामा म विश्वस्त छु।
अन्त्यमा, यो देशको साझा सामाजिक, बैचारिक, राजनीतिक, संस्कृति भनेको नै सहअस्तित्व हो र सहअस्तित्वलाई सबैले स्विकार गरौं र सहअस्तित्वकै बाटो हिँडौं। अन्त्यमा समस्त हिन्दु धर्मलम्बीहरूकाे महान् चाड बडादसैँको हार्दिक शुभकामना छ।