‘सबैका लागि खेलकुद हाम्रो अभियान, समुन्नत संघीय समाजवाद राष्ट्रको पहिचान’ भन्ने नाराका साथ काठमाडौंदेखि धनकुटा र झापाको दमकसम्म एकल म्याराथन दौड सुरु भएको छ ।
जनता समाजवादी पार्टी नेपाल निकट संघीय समाजवादी खेलकुद महासंघकाे आयोजनामा आजदेखि उक्त म्याराथन दौड सुरु भएको हो ।
काठमाडौंको दशरथ रङ्गशालाबाट बिहान ८ बजे दुई जना खेलाडी म्याराथनमा निस्केका छन् ।
काठमाडौंदेखि धनकुटाको टुँडिखेलसम्मका लागि डेबिट खेवा लिम्बू र दमकसम्मका लागि मेघराज राई निस्केका हुन् ।
चर्चित धावक बैकुण्ड मानन्धर र मिरा राईसहितकाे उपस्थितिमा उनीहरु एकल म्याराथन दाैडमा निस्केका हुन् ।
उनीहरुले पाँच दिनभित्रमा म्याराथन दौड पुरा गर्ने महासंघका अध्यक्ष नेत्रबहादुर नेम्वाङले बताए । उनीहरुलाई बाटाेमा आवश्यक परेकाे खण्डमा रेस्क्यु गर्ने गरी तयारी समेत गरिएको उनले बताए ।
खेल क्षेत्रकाे समग्र विकास र विस्तार गर्न अनुशासित जनशक्ति तयार गर्दै जनजागरण पैदा गर्ने, रोग प्रतिरोधात्मक क्षमताको विकास गर्ने र खेलकुदलाई जीवनको अभिन्न अंग बनाउने उदेश्यका साथ म्याराथन दाैडकाे आयोजना गरिएकाे महासंघले जनाएकाे छ ।

