सुनिल राना मगर (सन्जय) ।

पाल्पास्थित बगनासकाली गाउँपालिका वडा नं ७ मा जनता समाजवादी पार्टीबाट वडा सदस्यमा निर्वाचन लडेका सुनिल राना मगर (सन्जय)लाई नेपाली कांग्रेसका कार्यकर्ताहरुले ज्यान मार्ने धम्की दिएका छन् ।

जसपाको छाता चिन्हबाट सन्जय उठेकोले आफूहरु पराजित भएको भन्दै कांग्रेस कार्यकर्ताहरुले सोमबार तानसेनको बसन्तपुरस्थित सन्जयको निवासमै पुगेर ज्यान मार्ने धम्की दिएका हुन् ।

वडा नं ७ मा कांग्रेसका रामबहादुर साथीघरे र एमालेका गणबहादुर वडाअध्यक्षका उम्मेदवार थिए ।

जसमा एमालेका गणबहादुर ७६८ मतसहित प्यानलै विजयी भए भने कांग्रेसका रामबहादुरले ६२४ मत मात्रै ल्याए ।

कांग्रेस कार्यकर्ताहरुले सन्जयकै कारण आफूहरुकाे हार भएको भन्दै सुरुमा फाेनबाट र पछि घरमै गएर धम्की दिएका हुन् ।

धम्की दिनेहरुमा वडाअध्यक्ष पदका उम्मेदवार रामबहादुरका छोरा सुमन साथीघरेसहित अनिल राना, प्रविन लगायत रहेको पीडित सन्जयले बताए ।

उनले भने, ‘उहाँहरु बाइकमा मेरो घरमा आउनुभो र मलाई घरबाट निकालेर तैले छाता चिन्हमा उठेर के पाइस् ? अब गाउँतिर खुट्टा राखिस् भनेर तलाई काटेर फालिदिन्छु भनेर धम्की दिनुभो ।’

कांग्रेसका कार्यकर्ताहरुले पहिलेदेखि नै आफूलाई चुनावमा नउठ्न दबाब दिँदै आएको पनि सन्जयले बताए ।

उनले आफू पनि वडा अध्यक्षमै उठ्न लागेको तर कांग्रेसबाट रामबहादुर साथीघरे त्यहीँ पदमा उठ्ने भएपछि उनलाई असर नपर्ने गरी वडा सदस्यमा मात्रै उठेको बताए ।

तर, उनी वडा सदस्यमा जित्न सकेनन् । बरु उनले कांग्रेस कार्यकर्ताहरुको धम्की खेप्नु परेको छ । ज्यानकाे धम्की दिनेहरुविरुद्ध सन्जयले प्रहरीमा जाहेरी दिने तयारी गरेका छन् ।