तमू धि नेपालका अध्यक्ष हुमबहादुर गुरुङ ।

तमू (गुरुङ)हरुको संस्था तमू धि नेपालले काठमाडौंको टुँडिखेलमा तमू ल्होसार मनाउन रोक लगाउन माग गर्ने काठमाडौं महानगरपालिका वडा नं २२ का नवनिर्वाचित सदस्य चन्द्रमान तुलाधरलाई तत्काल माफ माग्न आग्रह गरेको छ ।

तमू धि नेपालका अध्यक्ष हुमबहादुर गुरुङले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै तुलाधरकाे अभिव्यक्तिले गुरुङहरुको महान चाड तमू ल्होसारलाई अपमान गरेको भन्दै तत्काल माफ माग्न आग्रह गरेका हुन् ।

अध्यक्ष गुरुङले तुलाधरलाई माफ माग्न लगाउन महानगरपालिकाका मेयर बालेन साह र उपमेयर सुनिता डंगोललाईसमेत आग्रह गरेका छन् ।

महानगरपालिकाकाे कार्यक्रममा वडा सदस्य तुलाधरले टुँडिखेलमा तमू ल्होसार मनाउँदा रातभरि होहल्लाले सुत्न नसकिने हुनाले उक्त चाड त्यहाँ मनाउन नदिनुपर्ने बताएका थिए ।

उनले रातभरिकाे नाचगान र बाजा बजाइले राति निदाउन नसकिने र टुँडिखेल दुषित भएकाे समेत बताएका थिए ।

उनले तमू ल्होसार पोखरातिरै मनाउनुपर्ने धारणा पनि राखेका थिए ।

तुलाधरले सामाजिक-सांस्कृतिक सद्भाव भड्काउने गरी अभिव्यक्ति दिएको भन्दै तत्काल माफ नमागे सोविरुद्ध सशक्त प्रतिवाद गरिने विज्ञप्तिमा उल्लेख छ ।

जनप्रतिनिधि चन्द्रमान तुलाधर ।