देशको नक्सा

देशको नक्सा

म कोरिरहेकी छु
देशको सग्लो नक्सा ।
खाली पानामा कोर्छु असङ्ख्य रेखाहरू
जसरी कोर्छ एउटा चित्रकार क्यानभासमा
आफ्नी आमाको मुहारचित्र ।

अनायस करेसाको डिल भत्किन्छ
पर्खाल उठाउँछु
सिकुवासम्मै चिरा पर्न खोज्छ आँगन
कुर्कुच्चा दुखिन्जेल किच्छु/टाल्छु
र मेट्छु धाँजाहरू !

विषाक्त हावा बोकिआउने आँधी
उडाउनै खोज्छ मलाई
बलेँसी चिरा पार्ने मुसलधारे वर्षा
बगाउन खोज्छ मलाई
छानाबाट झरेका पानीका तप्कनाले समेत
शिरदेखि पैतालासम्मै भिजाउँछ
तर पनि म उभिइरहन्छु पहाडजसरी
घरको मूल खाँबो समातेर
र कोरिरहन्छु सहस्र रेखाहरू !

ओ ! सिमाना काटिजाने चराहरू
पहाड भत्काएर बगिजाने खोलाहरू
देवल उठाइरहेका पौरखी धमिराहरू
माटोको दरबार उठाइरहेका कमिलाहरू
सुन,

भूगोलका यिनै मसिना रेखाहरूले त
जोडेकी छु मैले तीन कोटी स्वाधीन मुटुलाई
जहाँ उम्रिन्छ प्रेम र विश्वासको बिउ
र लटरम्म खुसीको घाम फल्छ !

छामिहेर त
आँखा चिम्लिएर आफ्नै मुटुको ढुकढुकी
हो, धड्किरहेको छ त्यहाँ
छुटेका भूगोलसँगै छुटेका मनहरू
एकाकार भएको
स्वाधीन देशको सग्लो नक्सा ।

याे कविता भाेजपुरकी कविता राईले लेखेकी हुन् । नेपाल प्रज्ञा-प्रतिष्ठानले ६४औँ वार्षिकोत्सवका अवसरमा भर्चुअल माध्यमबाट राष्ट्रिय कविता महोत्सव-२०७८ आयोजना गरेको थियो । जसमा याे कविता पहिलाे भएकाे हाे ।

धादिङकी अमृता स्मृतिको डढेलोपछि पनि वसन्त आउँछ शीर्षकको कविता दोस्रो, ताप्लेजुङकी सविता बरालको आमा म आएँ अब, बर्दियाकी नीरञ्जनाकुमारी चन्दको युगीन प्रतिध्वनि र नुवाकोटका प्रकाश सिलवालको बोधिसत्वको खोप शीर्षकको कविता तेस्रो भएका छन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्