‘ढाक्रेका गीत अनि कविता’ विमोचन

जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य जुद्ध ढाक्रेको नयाँ कृति ‘ढाक्रेको गीत अनि कविता’ विमोचन गरिएको छ ।

आज ललितपुरकाे बालकुमारीस्थित जसपा केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा जसपाका वरिष्ठ नेता अशोक राईले उक्त कृतिको विमोचन गरेका हुन् ।

१०० रुपैयाँ मूल्य तोकिएको उक्त कृतिमा २८ वटा गीत र नौवटा कविता समावेश छन् ।

वरिष्ठ नेता राईले जुद्ध ढाक्रेका गीत र कविताहरु प्राकृतिक छाँगा वा छहराजस्तै रहेकाे बताए ।

‘मैले सुरुदेखि अन्तसम्म पढेँ,’ उनले भने, ‘जुद्धजीका गीत र कविताहरु विल्कुल प्राकृतिक छाँगाजस्तो छन्, न कि इन्जिनियरले रेखांकन गरेको नहरजस्तो ।’

उनले ढाक्रेका गीत र कविताहरु पढ्दा प्राकृतिक आनन्द प्राप्त गर्न सकिने बताए ।

उनले भने, ‘प्रकृतिको छाँगामा छहरामा पानी पिउनु, नुहाउनु, रमाउनु जति आनन्ददायी हुन्छ, यो पढ्दा त्यो आनन्द भेट्न सकिन्छ ।’

उनले कुनै पनि गीत वा कविता राम्रो वा नराम्रो भन्ने कुरा मानिसको हेर्ने दृष्टिकोण र मानिसले निर्माण गरेको सांस्कृतिक मान्यता वा दार्शनिक चेतमा भर पर्ने बताए ।

जसपाका केन्द्रीय सदस्य राजकुमार राईले ढाक्रे शब्दमाथि जोड दिँदै ढाक्रे कवि नहुने बताए ।

‘ढाक्रे कवि हुँदैन, ढाक्रे गायक चाहिँ हुन्छ । उकाली ओह्राली गर्दा आफ्नाे दुःखसुखका गीत गाउँछ,’ उनले थपे, ‘दुःखसुख गर्दै उकाली ओह्राली गरे पनि, जति पीडा भए पनि, तरतरी पसिना बगाउँदै जीउ दुखे पनि बेलुका बसेर हाक्पारे गाउने, जुहारी खेल्ने, पालम गाउने, यस्तो हुन्थ्यो । तर यस स्रष्टा (जुद्ध ढाक्रे) पनि ढाक्रे जीवनबाट समय र परिस्थितिले अर्को युगतिर प्रवेश गरेको होला, त्यसकारण उहाँ कवि पनि बन्नुभयो होला ।’

उनले ढाक्रेका गीत र कविताहरुमा कतै प्रेम सम्बन्धी गुनासोहरु, कतै निर्वाध रुपका भावनाहरु पोखिएको वा सबै खालका भावनाहरु पोखिएको बताए ।

कार्यक्रममा जुद्ध ढाक्रेले आफ्नाे गीत र कविताहरु आफू जस्तै भएको बताए ।

ओखलढुंगाकाे सिद्धिचरण नगरपालिका वडा नं ९ घर भएका उनले आफ्नाे कृतिबारे भने, ‘राम्रो देखिन मान्छेले पोलिसिङ (चम्काउने) मेस्मोराइजिङ (मन्त्रमुग्ध पार्ने) गर्छन् । तर म त्यसो गर्दिनँ । म जे हुँ त्यही लेखेको छु ।’

उनले यस कृति प्रकाशनका लागि आफूले अघिल्लो पटकको लकडाउनदेखि नै तयारी गरेको सुनाए ।

सो क्रममा उनले अब आफूले हरेक दुई वर्षमा एउटा कृति ल्याउने घाेषणा गरे ।

उनले आफ्नाे कृतिको विमोचन कार्यक्रममा सहयोग गर्ने साथीभाइ तथा पार्टीका नेताहरु र शुभचिन्तकहरु सबैलाई धन्यवाद दिए ।

समाजवादी सांस्कृतिक महासंघका अध्यक्ष घनराज सुब्बाको अध्यक्षतामा भएको कार्यक्रमको व्यवस्थापनमा जसपाका केन्द्रीय सदस्य पूर्ण बस्नेत, जसपा खोटाङका नेता मविन्द्र राई लगायतले विशेष भूमिका खेलेका थिए ।

उक्त कृतिको प्रकाशक दुर्गा रुम्दाली छन् भने वितरक समाजवादी सांकृतिक महासंघ रहेको छ ।

(१०० रुपैयाँ मूल्य हुनुपर्नेमा अन्यथा भएकाेमा ११ अगस्टमा सच्याइएकाे छ । स.)

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्