मालिका केशरीको आख्यान ‘दुङाल’ सार्वजनिक

साहित्यकार मालिका केशरीको बौद्ध दर्शनमा आधारित आख्यान ‘दुङाल’ सार्वजनिक भएको छ ।

इतिहासकार एवम् हिमाली अध्ययनका ज्ञाता डा. रमेश ढुंगेल, मानवअधिकारकर्मी सुदीप पाठक, पूर्वसचिव एवम् साहित्यकार डा. सुधा शर्मा र आख्यानकार मालिका केशरीले हिजो संयुक्त रुपमा उक्त कृतिको विमोचन गरेका हुन् ।

कार्यक्रममा मानवअधिकारकर्मी पाठकले उपन्यासले शरणार्थीको मानवअधिकार, न्याय र आत्मसम्मानका कुरा उठाएकोे बताए ।

उनले भने, ‘उपन्यास पढ्दा पाठकलाई हरेक घटनामा आफू पनि सँगै रहेको भान हुन्छ । आप्रवासन या शरणार्थी हुनु रहर नभएर बाध्यता भएको कुरा उपन्यासले राम्ररी स्थापित गरेको छ । मानवअधिकारका दृष्टिले ‘दुङाल’ पाठकलाई रोचक र घोचक कोसेली हो ।’

यसले तिब्बती समुदायको समस्यामात्र नउठाएर उनीहरुको न्याय र आत्मसम्मानको वातावरण बनाउनका लागि कर्तव्यबोध गराएको उनले औंल्याए ।

पूर्व स्वास्थ्य सचिव डा. शर्माले पुरुष लेखक भएर पनि महिलाका भावनाको गहिराइ छोएर शरणार्थीको कथा भन्न सक्नु उपन्यासको सफलता भएको टिप्पणी गरिन् ।

उनले भनिन्, ‘शरणार्थी केटी कार्चुङको कथा उनकै आँखाबाट भनिएको छ । संवेदनशील हुने हो भने महिला पात्रले न्याय पाउने रहेछन् । अरु लेखक पनि मालिका केशरीजस्तो हुने हो भने मानवअधिकारमा पनि सुधार हुने रहेछ । यो उपन्यास समाजका यथार्थलाई चित्रण गर्न सफल छ । यो मननीय, संग्रहणीय र पठनीय छ ।’

तिब्बती शरणार्थीको परिवेशको उपन्यास भए पनि यसले विश्वभरि नै विस्थापन र शरणार्थीको पीडा भोगेका मानिसको पक्षमा बोलेको उनको भनाइ थियो ।

इतिहासकार डा. ढुंगेलले ‘दुङाल’ले लगभग हराउन थालेको र बिर्सन लागेको शरणार्थी समस्यालाई साहित्यमार्फत उजागर गरेको बताए ।

उनले भने, ‘साँच्चै भन्ने हो भने पछिल्लो समय शरणार्थी समस्या बिर्सन लागिसकेका थियौं । उनीहरुका दुःख, पीर, वेदना र उकुसमुकुसलाई दुङालले अभिव्यक्त गरेको छ । आँखैले देखेजस्तो छ हरेक घटना । एक बसाइमा पढिसकिन्छ । अन्तिम अध्यायमा नपुगेसम्म पाठकलाई तानिरहन्छ ।’

आख्यानकार मालिका केशरीले आफ्नो बाल्यकालदेखिको शरणार्थी शिविरसँगको सामीप्यताका कारण ‘दुङाल’ जन्मेको बताए ।

‘देशमा बस्न नसकेपछि जीवन खोज्दै यहाँ आइपुगेका शरणार्थीप्रति हामीले गरेको व्यवहार सही छन् त भन्ने प्रश्नले घचघचाएपछि उपन्यास नलेखी बस्न सकिनँ,’ उनले भने ।

मालिका केशरीका यसअघि बौद्ध दर्शनमा आधारित उपन्यास ‘पुनरुत्थान’ र ‘सुवर्णलता’ प्रकाशित छन् । सांग्रिला बुक्सले प्रकाशन गरेको ‘दुङाल’ उनको तेस्रो उपन्यास हो । उनी बौद्ध दर्शनका अध्येता हुन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img
spot_img

याे पनि पढ्नुस्