प्रकाश सपुतकाे गीतविरुद्ध माओवादीले निकालेको विज्ञप्ति (पूर्णपाठ)

संयुक्त प्रेस विज्ञप्ति

२०७८ फागुन २७ गते शुक्रबार प्रकाश सपुत युट्यूव च्यानलबाट सार्वजनिक गरिएको म्यूजिक भिडियो ‘पीर’ले चित्रण गरेको विषयवस्तुप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। दश बर्षे महान जनयुद्धमा जनमुक्ति सेनाहरुले गरेको योगदानप्रति अपमान गर्दै जनयुद्धलाई नै विदु्रपीकरण गर्न खोजिएको उक्त म्यूजिक भिडियो सार्वजनिक गरिएको घटनाप्रति हामी घोर आपत्ति प्रकट गर्दै तत्काल युट्यूव च्यानलबाट हटाउन जोडदार माग गर्दछौं ।

दश बर्षे जनयुद्धले व्यवस्था परिवर्तन गरे पनि योद्धाहरुको जीवन परिवर्तन नभएको उद्घोषबाट सुरु गरिएको म्यूजिक भिडियोमा जनमुक्ति सेना र घाइते योद्धाहरुलाई अहिले आफ्नो जीवन धान्नको लागि देह व्यापार र परस्त्रीगमनमा लागेको भ्रमपूर्ण दृश्यहरु देखाइएको छ। भिडियोको अन्तमा शून्यताको प्रतिविम्ब प्रदर्शन गर्दै देश छोड्नु पर्नेसम्मको निकृष्ट, कपोकल्पित, झूट, राजनैतिक पूर्वाग्रह साँधिएको छ। महिलाहरुको चरित्र हत्या गरी अश्लील र घोर अपमानजनक ढंगले प्रस्तुत गरिएको छ। यस गलत क्रियाकलापको जति निन्दा गर्दा पनि कम हुन्छ। उनले विगतमा बजारमा ल्याएका अन्य म्यूजिक भिडियोहरुका कारण पटक पटक विवादित हुँदै आएका थिए। पछिल्लो भिडियोमा पनि उनले समाजको संवेदनशील विषयलाई दुरुपयोग गर्दै अप्रासांगिक दृश्य र संवाद राखेर आफु चर्चामा आउने वदनियत राखेका छन् ।

जनयुद्ध र जनआन्दोलनमा जीवनको वलिदानीलाई गौरव ठान्ने योद्धाहरु आज राष्ट्र, राष्ट्रियता र संविधानको रक्षा गर्ने महत्वपूर्ण अंगहरुको नेतृत्व गरिरहेका छन्। साथै उत्पादनसँगको संघर्षमा पनि सामुहिक रुपले आफ्नो जीवनयापनको निम्ति श्रमरत छन्। भलै हिजो उठाइएका कतिपय मुद्दाहरुमा सम्बोधन अपुग भएको छ तर जनयोद्धाहरुलाई जीविकाको कारण देखाई देह व्यापारमा लागेको देखाउनु निकै भ्रामक र दुराशयपूर्ण छ। सिङ्गो परिवर्तनकारी शक्तिको मानमर्दन गर्ने, घृणा र द्वेष फैलाउने कार्यका साथै विचारधारात्मक तथा राजनैतिक मुलप्रवाहलाई नै मजाक गरिएको अभिव्यक्ति एवं दृश्य माओवादी आन्दोलनको लागि खेदपूर्ण छ ।

सामन्तवादी राजतन्त्रात्मक राज्य व्यवस्थाको अन्त गरी संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्नुका साथै वर्गीय, जातीय, लिङ्गीय एवं क्षेत्रीय उत्पीडन एवं सबैखाले विभेदको अन्त्य गर्न जनयुद्धको महत्वपूर्ण देन रहेको छ। हिजो जनताको न्यायपूर्ण विद्रोहलाई दवाएर सामन्तवादको रक्षामा तल्लीन प्रतिक्रियावादी राजनैतिक शक्तिहरु आजको संघीय लोकतान्त्रिक गणतन्त्रको हिमायती बन्न खोजेका छन्। उनीहरुको समेत उपहास हुने गरी निर्माण गरिएको म्यूजिक भिडियो प्रकाश सपुतको मात्र सिर्जना मान्न सकिदैन। यसको पृष्ठभूमिमा प्रतिगामी तत्वहरुले वैचारिक र राजनीतिक रुपमा परिचालन र संरक्षण गर्न खोजिएको कुरा सजिलै अनुमान गर्न सकिन्छ। भिडियोको सारवस्तु समग्रमा ऐतिहासिक जनआन्दोलन, दश बर्षे जनयुद्धमा होमिएका महिलालाई देह व्यापार र पुरुषलाई परस्त्रीगमनजस्तो अनैतिक कार्यसँग तुलना गर्नु/जोड्नु अत्यन्तै दुःखद र आपत्तिजनक छ। यसर्थ नितान्त पूर्वाग्रही, झुट र भ्रामक कार्य गर्ने उपर तुरुन्त कानुनी कार्वाही गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउँछौं। साथै उक्त म्यूजिक भिडियो युट्यूव च्यानलबाट तुरुन्त हटाई यस्ता निन्दनीय गतिविधि तुरुन्त बन्द गर्न र आम नेपाली जनतासामु सार्वजनिक रुपमा अपराध स्वीकार गरी माफी माग्नसमेत आग्रह गर्दछौं ।

मिति : २०७८ फागुन २९
दिपेन्द्र कुमार पुन, इञ्चार्ज, जनक्रान्तिका घाइते तथा अपाङ्ग योद्धा सङ्घ, केन्द्रीय समिति
अमृता थापामगर, अध्यक्ष, अखिल नेपाल महिला संङ्घ (क्रान्तिकारी), केन्द्रीय समिति
मातृका पोखरेल, अध्यक्ष, जनसांस्कृतिक महासङ्घ, नेपाल, केन्द्रीय समिति
विष्णु सापकोटा, अध्यक्ष, प्रेस सेन्टर, नेपाल केन्द्रीय समिति ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्