डिम्याट खाता खाेल्नेकाे संख्या ३५ लाख नाघ्याे

नेपालमा डिम्याट खाता खोल्नेको संख्या ३५ लाख २८ हजार पुगेको छ ।

पछिल्लो समय सर्वसाधारणमा सेयर बजारप्रतिको आकर्षण बढ्दै जाँदा डिम्याट खाता खोल्नेको संख्या समेत बढ्दै गएको हो । सेयर बजारमा आएको सुधार र सार्वजनिक सेयर निष्कासन ‘आईपीओ’मा सर्वसाधारणको आकर्षणले डिम्याट खोल्नेको संख्या बढिरहेको छ ।

सीडीएस एन्ड क्लियरिङ लिमिटेडको शनिबारसम्मको तथ्यांकअनुसार डिम्याट खाता ३५ लाख २८ हजार ८ सय ६९ पुगेको छ ।

डिम्याट हुने सेयरको संख्या ६ अर्ब ५० करोड ६८ लाख ५१ हजार १ सय ३३ कित्ता रहेको छ । डिम्याट खाता नभएकाले प्राथमिक सेयर भर्न पनि पाउँदैनन् ।

कतिपयले प्राथमिक सेयर भर्नकै लागि पनि डिम्याट खाता खोल्ने गरेका छन् । डिम्याट खाता खोलेका सबैले सेयर बजारमा दैनिक कारोबार गर्छन् भन्नेछैन । कतिपयले अहिले पनि सेयर प्रमाणपत्र नै घरमा राखिरहेका छन् ।

के हो डिम्याट खाता ?

अंग्रेजी शब्द ‘डिम्याट्रिलाइज्ड’को छोटकरी शब्द नै डिम्याट हो । नेपालीमा यसको अर्थ अभौतिक खाता हुन्छ । विभिन्न कम्पनीको सेयर खरिदबिक्री हुँदा पहिले भौतिक अर्थात् कागजी प्रमाणपत्रकै रूपमा हस्तान्तरण हुने गर्दथ्यो अर्थात् सेयर बेच्नेले प्रमाणपत्र नै दिने, खरिद गर्नेले फेरि आफ्नो नाममा प्रमाणपत्र नै पाउँथे ।

२०७२ माघ २ गतेबाट डिम्याट खाता पूर्ण रूपमा सञ्चालनमा आएको हो । हाल सेयर अभौतिक रूपमा अर्थात् यही डिम्याट खातामा सिधै हस्तान्तरण हुन्छ । जसरी हामीले बैंक खातामा पैसा जम्मा गर्छौं, त्यसैगरी डिम्याट खातामा किनेको सेयर आफैं जम्मा हुन्छ ।

प्राथमिक सेयर (आईपीओ) भरेपछि परेमा खातामै जम्मा हुन्छ । त्यस्तै, दोस्रो बजारमा सेयर बिक्री गर्दा खाताबाट सेयर संख्या घटेर खरिद गर्नेको डिम्याट खातामा जम्मा हुन्छ । यही सेयर जम्मा हुने खाता नै डिम्याट खाता हो ।

कसरी, कहाँ खोल्ने खाता ?

यो खाता विभिन्न बैंकका सहायक कम्पनीहरूमा खोल्न सकिन्छ । सहायक कम्पनी भएका बैंकले नै यस्तो खाता खोलिदिन्छन् । त्यस्तै, ब्रोकर कम्पनीमार्फत पनि यस्तो खाता खोल्न सकिन्छ ।

यो खाता खोलिदिने संस्थालाई निक्षेप सदस्य (डिपोजिटरी पार्टिसिपेन्ट) भनिन्छ । यस्तो खाता खोल्नका लागि बैंक खाता नम्बर, नागरिकता प्रमाणपत्रको फोटोकपी र फोटो चाहिन्छ । आफूले कारोबार गर्ने बैंक वा ब्रोकर कम्पनीमै यस्तो खाता खोल्न सकिन्छ ।

धेरैले यस्तो खाता खोलेवापत कुनै शुल्क लिँदैनन् । केहीले १ सय रुपैयाँसम्म शुल्क लिन सक्छन् । डिम्याट खाता खोलेपछि तपाईंलाई १६ अंकको डिम्याट खाता नम्बर प्राप्त हुन्छ । सो नम्बर पाएपछि मात्रै प्राथमिक सेयर भर्न वा दोस्रो बजार (नेप्से)बाट खरिदबिक्री गर्न सकिन्छ ।

आफ्नो डिम्याट खातामा कुन कुन कम्पनीको, कति सेयर छ ? त्यसको अहिलेको बजार मूल्य कति छ, खातामा सेयर जम्मा भए/नभएको जस्ता विवरण पनि आफूले नै मोबाइल वा ल्यापटपबाट हेर्न सकिन्छ । यसका लागि डिम्याट खाता खोलिदिने संस्थाले डिम्याट एकाउन्ट लगइनको युजरनेम र पासवर्ड दिन्छन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्