साकेला गाउँपालिका–३ खिदिमाको मखमलेमा रेन्बाे ट्राउट पालन

खोटाङस्थित साकेला गाउँपालिका–३ खिदिमाको मखमलेमा केही युवाहरुले रेन्बाे ट्राउट माछा पालन सुरु गरेका छन् ।

उनीहरुले तावाहाङ रेन्बाे ट्राउट कृषक समूह गठन गरी दश रोपनी जग्गामा रेन्बाे ट्राउट माछा पालन सुरु गरेका हुन् ।

समूहका कोषाध्यक्ष प्रभात राईले १९ वटा रेसवे (ट्राउट माछा बस्ने पोखरी) निर्माण गरी गत चैतमा १० हजार ट्राउट माछाका भुरा हालेको बताए ।

समूहले नेपाल रेन्बाे ट्राउट फाम गोटिखेल ललितपुरबाट १५ हजार भुरा खोटाङमा ल्याएका थिए । तर, तापक्रम बढी र अक्सिजन कमी हुँदा करिब पाँच हजार भुरा बाटोमै मरेका थिए ।

‘काठमाडौंबाट १५ हजार भुरा ल्याएकोमा करिब पाँच हजार भुरा बाटैमा मर्यो, १० हजार भुरा पोखरीमा हाल्यौं,’ कोषाध्यक्ष राईले भने, ‘३/४ ग्रामको भुरा अहिले २५/३० ग्रामको भएको छ ।’

गत वैशाख अन्तिम साता राेग लागेर करिब १ हजार भुरा मरेकाले हाल पाेखरीमा करिब ९ हजार रेन्बाे ट्राउट हुर्कदैछन् ।

सुरुवात

मखमलेमा प्रभात राई, निशान राई लगायतका युवाहरुले स्वस्थ्यकर र महंगो मानिने रेन्बाे ट्राउट माछा पाल्ने सोंच बनाएपछि २०७५ सालमा रेन्बाे ट्राउटका विशेषज्ञ डा. आशकुमार राईको टोली अनुसन्धानका लागि मखमले आएका थिए ।

समुद्री सतहदेखि २०८५ मिटरको उचाइमा रहेको मखमलेमा रेन्बाे ट्राउट पालनका लागि उपयुक्त वातावरण र पानी रहेको डा. राईको निष्कर्ष आयो ।

त्यसपछि युवाहरुको उत्साह बढ्यो । उनीहरुले साकेला गाउँपालिका र कर कार्यालय खोटाङमा समूह दर्ता गरेर व्यवसायिक रुपमै रेन्बाे ट्राउट पाल्ने काम अघि बढाए ।

उनीहरुले तावाखोलाको चिसो पानीमा ट्राउट माछा पाल्न ∗१९ वटा रेसवे निर्माण गरे ।

कृषि क्षेत्रमा काम गर्न जोसिएका उनीहरुलाई साकेला गाउँपालिका र प्रदेश १ सरकारले अनुदानस्वरुप आर्थिक सहयोग पनि गर्यो ।

समूहले आर्थिक वर्ष २०७६/७७ मा गाउँपालिकाबाट ९ लाख र प्रदेश सरकारबाट २५ लाख रुपैयाँ अनुदान पायो ।

सरकारबाट पाएको अनुदान र आफूहरुको लगानी गरी ट्राउट माछा पालनका लागि हालसम्म ७१ लाख रुपैयाँ लगानी भएको कोषाध्यक्ष राई बताउँछन् ।

दुई कर्मचारी, काठमाडौंका दाना

रेन्बाे ट्राउट पालन सुरु गरेपछि समूहले माछा पालनसम्बन्धी तालिम लिएका स्थानीय दुई जना युवालाई कामदारको रुपमा राखेको छ ।

उनीहरुले माछालाई नियमित रुपमा दाना दिने, माछाको दिसा लगायत फोहोरहरु सफा गर्ने, माछाको हेरचाह गर्ने काम गर्छन् ।

पोखरीमा फोहोर वा धमिलो पानी पस्न दिनै हुन्न । फोहोर पानीले माछा मर्न सक्छ ।

पाेथी रेन्बाे ट्राउट माछा

रेन्बाे ट्राउटको खानाको रुपमा काठमाडौंबाट दाना ल्याउने गरिएको छ । ३० केजीको बोरा काठमाडौंबाट मखमले आइपुग्दा प्रतिबोरा ९ हजार रुपैयाँ पुग्ने कोषाध्यक्ष राईको भनाइ छ ।

रेन्बाे ट्राउटलाई दिनमा चार पटक दाना दिनुपर्छ । राईका अनुसार रेन्बाे ट्राउटले हाल दैनिक तीन/चार केजी दाना खाइरहेका छन् ।

आगामी दुई वर्षभित्रमा रेन्बाे ट्राउटको भुरा र दाना मखमलेमै उत्पादन गर्ने आफूहरुको लक्ष्य रहेको राईले सुनाए ।

बजार व्यवस्थापन

रेन्बाे ट्राउटको भुरा पोखरीमा हालेको डेढ वर्षपछि खान वा बेच्नलायक हुन्छ ।

रेन्बाे ट्राउटको भाउ हाल काठमाडौं उपत्यकामा प्रतिकेजी १३०० रुपैयाँ छ । माछा फाममै पनि कम्तिमा पनि ११०० रुपैयाँ पर्दछ ।

पहिलो त महंगो, त्यसमा पनि खोटाङजस्तो दुर पहाडी गाउँमा उत्पादन भएको माछाको बजार व्यवस्थापन कसरी गर्ने ? कृषकहरुका लागि यो महत्वपूर्ण पश्न हो ।

तर, तावाहाङ रेन्बाे ट्राउट कृषक समूहले डेढ वर्षपछि बिक्री गर्न योग्य हुने रेन्बाे ट्राउटको बजार व्यवस्थापनसम्बन्धी अहिलेदेखि नै योजना बनाएको छ ।

कोषाध्यक्ष राईका अनुसार उत्पादित माछामध्ये १५ प्रतिशत स्थानीय बजार, १० प्रतिशत जिल्लाको साबिक सदरमुकाम र ५० प्रतिशत काठमाडौं उपत्यकामा पुर्याइनेछ ।

२५ प्रतिशत माछा भने ब्रिडिङ अर्थात भुरा उत्पादन गर्नका लागि राखिने छ ।

हालै मात्र सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची क्षेत्रमा बाढी आएर सो क्षेत्रका सबै रेन्बाे ट्राउट फाम सखाप पारेकोले काठमाडौं उपत्यकामा अब रेन्बाे ट्राउटको अभाव हुने र त्यस अवस्थामा आफूहरुको माछाले बजार भाउ पाउने राईको अनुमान छ ।

उनले हाल खोटाङ र भोजपुरका विभिन्न पर्यटकीय क्षेत्रहरुलाई जोड्ने ‘मुन्दुम ट्रेल’ निर्माण भइरहेको तथा साकेला गाउँपालिकाको तावाभञ्ज्याङ लगायत क्षेत्रमा पनि पर्यटकीय स्थलहरु निर्माण हुने क्रममा रहेकाले भविश्यमा पर्यटकहरुको संख्या वृद्धि हुने र रेम्बोट्राउट माछा स्थानीय बजारमै खपत हुने बताए ।

(याे समाचारमा १९ वटा रेसवे निर्माण र ललितपुरबाट १५ हजार भुरा ल्याएकाे हुनुपर्नेमा अन्यथा भएकाेले ६ जुलाई २०२१ मा सच्याइएकाे छ । स.)

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्