सिक्किमका पूर्वमुख्यमन्त्रीले भने- तपाईंहरु पनि जैविक खेती सुरु गर्नुस्

खेतीपाती हुने माटोको जीवाणुले नै हो

नेपाल सरकारले चाहिएको बेलामा पर्याप्त मात्रामा रासायनिक मल उपलब्ध गराउन नसकेको भन्दै कृषक तथा सरोकारवालाहरुले गुनासो गरिरहेका बेला सिक्कमका पूर्वमुख्यमन्त्री पवन चाम्लिङले नेपालीहरुलाई जैविक खेतीको सुरुवात गर्न सुझाव दिएका छन् ।

‘डिल्ली रमण रेग्मी अन्तर्राष्ट्रिय शान्ति पुरस्कार’ ग्रहण गर्न नेपाल आएका पूर्वमुख्यमन्त्री चाम्लिङले शनिबार किरात राई यायोक्खाले काठमाडौंमा आयोजना गरेको ‘बधाई ज्ञापन तथा भेटघाट कार्यक्रम‘मा जैविक खेती प्रणालीबारे प्रकाश पार्दै नेपालमा पनि सुरु गर्न सुझाव दिएका हुन् ।

उनले रासायनिक मलको प्रयोगले माटोमा पाइने लाखौं सूक्ष्म जीवाणुहरु मर्ने र त्यसपछि माटो रोगी र विषादीयुक्त हुने बताए ।

‘केमिकल फर्टिलाइजर (रासायनिक मल) यतिसम्म घातक कुरा हो, यसले माटोलाई रोगी बनाइदिन्छ, विषादीयुक्त बनाइदिन्छ,’ सिक्किमलाई विश्वकै पहिलो जैविक राज्य बनाउन सफल भएका चाम्लिङले भने, ‘रोगी र विषादीयुक्त माटोबाट उब्जिएको अन्नमा पनि विष नै हुन्छ । रोगी माटोबाट उब्जेको खाना खाँदा हाम्रो शरीर पनि रोगी हुन्छ ।’

एक मुठ्ठी स्वस्थ्य माटोमा दश अरब जति सूक्ष्म जीवाणु हुने भन्दै उनले माटोको प्राण भनेकै ती सूक्ष्म जीवाणु भएको बताए ।

‘खेतीपाती हुने जीवाणुले नै हो, खेतीपातीको चारो नै जीवाणु हो,’ उनले थपे, ‘माटोमा केमिकल लाउने बित्तिकै त्यो त स्वाहा हुन्छ ।’

सो क्रममा उनले मलिलो माटो तातो हुने र रुखो माटो चिसो हुने कुरा समेत बताए ।

उनले भने, ’मलिलो माटोमा वैशाख–जेठतिर हात लाउनुस् त, तातो हुन्छ । मलिलो माटो तातो हुन्छ किनभने त्यहाँ जीवाणु हुन्छ । जुन चाहिँ रुखो माटो हुन्छ, त्यो चिसो हुन्छ किनकि त्यहाँ जीवाणु हुँदैन ।’

उनले अब आजकै दिनदेखि ‘जैविक खेती गर्छु’ भनेर प्रण गर्न आग्रह पनि गरे ।

तर, नेपालमा भने अधिकांश किसानहरुले उत्पादन बढाउनका लागि रासायनिक मल प्रयोग गर्ने गरेका छन् ।

सरकारी अधिकारीहरुका अनुसार नेपालमा वार्षिक सात लाख मेट्रिक टन रासायनिक मल चाहिन्छ ।

सो क्रममा नेता चाम्लिङले आफू अराजनीतिक भ्रमणमा नेपाल आएको बताए । वरिष्ठ साहित्यकार समेत रहेका उनले नेपाली भाषा र संस्कृतिले विश्वभरिका नेपालीहरुलाई जोड्नुपर्ने बताए ।

पूर्वमुख्यमन्त्री चाम्लिङलाई बधाई दिने कार्यक्रममा यायोक्खाका अध्यक्ष दिवस राई, लोकसेवा आयोगका सदस्य वीरबहादुर राई, यायोक्खाका सल्लाहकार चन्द्रविक्रम राई, वरिष्ठ गायक तथा संगीतकार जीतेन राई, समाजसेवी मनिकुमार राई, व्यवसायी तेजबहादुर राई लगायत किरात राई समुदायका अगुवाहरुकाे सहभागिता थियो ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

1 COMMENT

  1. धेरै राम्रो समय सापेक्ष उत्प्रेक प्र संग सम्प्रेषण

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img