जुद्ध ढाक्रे
अशोक राईको शिर योग्यता र क्षमताले अब्बल भएर पनि परिस्थितिबस् राजनीतिक पाेर्टफाेलियाेमा तल परेकै थियो, वा भनौं केही शिर ढलेकै थियो । यसपटक जसपाको वीरगन्ज बैठकले उनको शिर ठाडो पारेको छ, जुन स्वाभाबिक छ । जसपाको विधानअनुसार संघीय परिषद्काे अध्यक्ष खाली भएपछि उनी संघीय परिषद् अध्यक्षमा मनोनयन भएका हुन् ।
केही अनलाइन मिडियाहरुले राजेन्द्र श्रेष्ठले बनाएका हुन् भनेर बजारमा समाचार सम्प्रेषण गरे पनि त्यो कुरा सत्य होइन । बरु यही स्तम्भकार जुद्ध ढाक्रेले नै बैठक हलमा उनको नाम प्रस्ताव गरेपछि उनी संघीय परिषद्काे अध्यक्ष बन्ने वातावरण निर्माण भएको हाे ।
उनैको नेतृत्वमा संघीय समाजवादी पार्टी, नेपाल निर्माण भएपछि विभिन्न पार्टीसँग एकता गर्दै आउँदा उनको पद खुम्चिदै गएको थियो । जबकि, उनकै नेतृत्वमा स्थापित गरिएका पहिचान र समानुपातिक समावेशीजस्ता पार्टीका मुद्दाकाे भरमै जसपा अगाडि बढिरहेको छ ।
तर, पार्टीमा उनको कुराको कम सुनुवाइ हुन्छ भन्ने पार्टी कार्यकर्ता र जनमानसमा परिसकेको थियो । पार्टीको निर्णयहरुमा पनि त्यो कुरा झल्किन्थ्यो । त्यसका थुप्रै उदाहरण्हरु छन्; जस्तै, पार्टीको कोटामा राजदूत नियुक्त गर्ने र राजनैतिक नियुक्ति दिने कुराहरुमा यसका प्रमाणहरु लिन सकिन्छ ।
संघीय परिषद्काे अध्यक्षमा उनको मनोनयनले पार्टी पंक्तिमा र उनका शुभचिन्तकहरुमा देशभरि नै सकारात्मक सन्देश गएको छ । स्थानीय निर्वाचनमा पहाडी क्षेत्रमा पनि केही परिणाम दिएर जसपाले राम्रो उपस्थित जनाएको छ । पहाडी र हिमाली भेगमा अझ पार्टीलाई अगाडि बढाउने दायित्व पनि अशोक राईकै काँधमा अझै धेरै थपिएको छ ।
अशोक राई र रकम चेम्जाेङले योजना बनाएर कसैलाई काख र कसैलाई पाखा नगरी संगठन गर्ने हो भने जसपाको संगठन एक वर्षभित्र संसारले देख्ने गरी गर्न सकिन्छ ।
क्षमताबिनाको समावेशी नेतृत्व पनि घातक नै रहेछ भन्ने कुरा बुझ्न टाढा जान पर्दैन रहेछ भन्ने कुरा जसपाकै भुक्तभोगी रहेको कुरा सबैलाई विदितै रहेकाे छ । संघीय समाजवादी पार्टीको समयमा पार्टी निर्माण भएको ११ महिनाको बिचमा संविधानसभा सदस्य बनाइएको डिबी नेपाली, जसपाका नेता बनाइएका दानबहादुर विश्वकर्मा र संघीय सांसद बनाइएकी उनकै श्रीमती कलुदेवी विश्वकर्माले स्वार्थसिद्ध भएपछि पार्टी त्यागीसकेका छन् भने खस-आर्य समुदायबाट सांसद र प्रदेशसभा सदस्यहरुको पनि आशालाग्दो जनतामाँझ काम गरेको देखिदैन ।
अब पार्टीले क्षमता र संघ-संगठन गर्न सक्ने सदस्यहरुलाई नचिन्ने र ठूला नेताका आसेपासेहरुलाई मात्रै मौका दिँदै जाने र पारदर्शिता नअपनाउने हो भने पार्टी निर्माण गर्न सम्भव छैन । जसपामा केही मान्छेहरु दिनरात काम गरेको गर्यै छन्, केही मान्छेहरु समावेशीकाे नाममा पार्टी र सरकारका अंगहरुमा सुबिधा खाएर बसेकै छन् । यो राम्रो तरिका मान्न सकिन्न, यसलाई चाडो सुधार गर्नु पर्छ ।
गण्डकी प्रदेशमा डिबी नेपालीको कुरा आइसकेको छ भने त्यही प्रदेशमा आर्थिकबाहेक निम्छुरा क्षमता हुँदा पनि गणेशमान गुरुङलाई पार्टीले अरुलाई अन्याय गरेर पनि प्रमोसन गर्यो । तर उनले पनि जसपा त्यागेर एमाले प्रबेश गरेर देखाइदिए ।
यस्ताे घटना देख्दा त पार्टीको नेतृत्वको दूरदृष्टि निकै कम छ भन्ने साबित हुन आउँछ र यस्ताे घटनाको लागि कहिल्यै क्षमा मागेको पनि छैन र निर्णयमा कमजोरी भएछ भनेर स्विकार्न पनि चाहेको छैन । यो लोकतन्त्रमा निकै असभ्य मानिन्छ । नेतृत्वले यसलाई सुधार्नेछन् भन्ने अपेक्षा गर्ने बाहेक अर्को उपाय छैन ।
जसपाको सांगठनिक आधार हेर्दा सबैभन्दा राम्रो मधेस प्रदेश, दाेस्राेमा लुम्बिनी प्रदेश र तेस्राेमा १ नम्बर प्रदेश हाे । अब पार्टीले यीनै तीन प्रदेशमा विशेष योजना बनाउनपर्ने आवश्यकता देखिन्छ । मधेश आन्दोलनको जगमा स्थापित संगठनले पहिचानको आधारमा मधेस प्रदेश प्राप्त गरिसकेको छ ।
यसैको नजिरले अरु प्रदेशहरुमा पहिचानको प्रदेश प्राप्त गर्नुछ । पार्टीको आधार मधेसमा निकै राम्रो छ । तर रसायन धेरै कमजोर छ । किनभने भनेको जस्ताे पद र मन्त्री पाएन भने आज पार्टीमा भएको मान्छे भोलि अर्कै पार्टीको सदस्य भैसक्छ । यो निकै अप्ठ्यरो चरित्र हो, यसलाई सुधार्नु पर्दछ ।
लुम्बिनी प्रदेश जहाँ पार्टीको मगरात, खसान र थारुहट राष्ट्रिय समिति पनि कार्यरत रहेका छन्, यो प्रदेशमा पार्टीको काम निकै उठिरहेको छ र आउने दिनमा यो प्रदेशमा पार्टीले राम्रो परिणाम ल्याउन सक्ने सम्भावना छ ।
धेरै बिरालो भएर मुसा नमारेको प्रदेश भनेको १ नम्बर प्रदेश नै हो । किनभने त्यही जन्मेका हुन्, अशोक राई, रकम चेम्जाेङ, हेमराज राई र रणध्वज कन्दङ्वा । र त्यहाँ अरु थुप्रै नेता-कार्यकर्ताहरु पनि कार्यरत छन् । यसै प्रदेशमा किरात, लिम्बुवान, शेर्पालुङ र थोरै मधेस प्रदेशको भाग पर्दछ । विचारमा यो प्रदेश उठिसकेको छ, संगठनमा पनि पछि छैन । तर यस प्रदेशका माथिल्लो तहका नेताहरुको चित्त कुखुराको जस्ताे छ । सानो कुरा पनि पचाउन नसक्ने र मिलाउन नसक्ने ।
स-सानो गुटमा रम्न खोज्ने र संगठनलाई चिम्टिभर योगदान गर्न नसक्ने फिस्टेहरुलाई च्यापेर राष्ट्रिय लेवलको नेता हुने सपना देख्ने समस्याले गर्दा पार्टी संगठनलाई नोक्सान भएको छ ।
अशोक राई र रकम चेम्जाेङले योजना बनाएर कसैलाई काख र कसैलाई पाखा नगरी संगठन गर्ने हो भने जसपाको संगठन एक वर्षभित्र संसारले देख्ने गरी गर्न सकिन्छ । त्यहाँ यति धेरै नेता-कार्यकर्ता छन् र हर किसिमले यति सक्षम छन् कि त्यहाँ पुष्पकमल भन्ने प्रचण्डेको टुपी ठाडो हुने गरी पार्टी संगठन त के जनयुद्ध गर्न सकिन्छ । तर यो कुरा अशोक राई र रकम चेम्जाेङलाई कसले सम्झाउने ? सायद महाभारतमा युधिष्ठिरलाई सम्झाउने यक्ष नै आउनुपर्छ होला । हामीले सम्झाउन सकिएन ।
पहिलो र दाेस्राे विश्वयुद्ध लड्ने राई र लिम्बूका सन्तान त्यही छन् । एकबार पहिचान लडाइँ लड्न तयारै छन् । तर नेतृत्वले हिम्मत गरेको देखिदैन ।
नेपालीमा एउटा भनाइ छ- सानो चित्तले बोसो पाक्दैन । पहिचानको लडाइँ पनि बोसो जस्तै छ । जसपाको मुद्दा प्रत्यक्ष निर्वाचित राष्ट्रपति, जातीय जनसंख्याको आधारमा समानुपातिक संसद तथा राज्यको हरेक अंगमा समावेशी प्रतिनिधित्व, पहिचानको आधरमा १०+१ आदि ईत्यादिको नेतृत्व वर्तमान परिस्थितिमा केही समयसम्म उपेन्द्र यादवको विकल्प देखिदैन ।
तर, उसले मधेसी पाराबाट बढी प्रजातान्त्रिक रुपान्तरण हुँदै जानुपर्ने आवश्यकता देखिन्छ । छिटो विधान अधिवेशन सम्पन्न गरी पार्टी र कार्यकर्तालाई उर्जा दिन महाधिवेशन गर्न बाहेक अर्को बाटो छैन ।
विधानमा हरेक पदमा निर्वाचित हुने व्यवस्था गर्नुपर्दछ र त्यही लोकतान्त्रिक प्रणाली हो । यसको लागि पार्टीको हरेक कार्यकर्ता तयारी अवस्थामा रहनुपर्दछ ।
