काठमाडौं । जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीको बिचमा एकताका लागि वार्ता सुरु भएको छ ।
पार्टी एकताका लागि दुवै दलले वार्ता समिति निर्माण गरेको छ ।
जनता समाजवादी पार्टीका वार्ता समिति संयोजक राजेन्द्र श्रेष्ठकाअनुसार आज (बिहीबार) पनि वार्ता हुँदैछ ।
वार्ता एजेन्डामा केन्द्रित हुने उनले बताए ।
दुई दिनअघि पनि नेता श्रेष्ठको घरमा वार्ता भएकाे थियाे ।
जसपाले राजेन्द्र श्रेष्ठका साथै रकम चेम्जोङ र गोविन्द चौधरी रहेको वार्ता समिति बनाएको हो ।
एकीकृत समाजवादीले महासचिव वेदुराम भुषालको संयोजकत्वमा डा. विजय पौडेल, गंगालाल तुलाधर र प्रकाश ज्वाला रहेको वार्ता समिति बनाएको हो ।
गत मंसिर ४ गतेको निर्वाचनपछि जसपाको प्रतिनिधिसभामा १२ जना सांसद छन् भने एकीकृत समाजवादीको १० जना सांसद छन् ।
दुई दलबिच एकता भए सो पार्टी संसदको चौथो ठूलो दल बन्नेछ । हाल २० सांसदसहित रवि लामिछाने नेतृत्वको पार्टी चौथो पार्टीको रुपमा छ ।