लुम्बिनीमा रामकथा वाचन कार्यक्रम राखेपछि ‘धार्मिक हस्तक्षेप बन्द गर’ भन्दै नाराबाजी

लुम्बिनी । सरकारले बुद्ध धर्मावलम्बीहरुको मुख्य आस्थाको केन्द्र लुम्बिनीमा हिन्दू धर्मावलम्बीहरुको ‘रामकथा वाचन कार्यक्रम’ राखेपछि उक्त कार्यक्रम रोक्न माग गर्दै बृहत् प्रदर्शन गरिएको छ ।

सरकारले लुम्बिनीमा भारतीय आध्यात्मिक गुरु मुरारी बापुको प्रवचन राख्ने र सो कार्यक्रममा भारतबाट र नेपालका गरी करिब दुई हजार भत्तजनहरु भेला पार्ने कार्यक्रमको अनुमति दिएपछि नेपाल आदिवासी जनजाति महासंघका साथै विभिन्न बौद्धसंस्थाहरुले सोमबार बिहानदेखि नै सो क्षेत्रमा धार्मिक हस्तक्षेप रोक्न माग गर्दै नाराबाजी र प्रदर्शन गरेका हुन् ।

राम कथा वाचन कार्यक्रम यही माघ २१ गतेदेखि २९ गतेसम्म गर्ने तयारी गरिएको थियो ।

तर, बौद्ध धर्ममाथि अतिक्रमण गर्न खोजिएको भन्दै सोको विरोध हुने सूचना पाएपछि आयोजकले माघ २४ गतेदेखि फागुन ३ गतेसम्म प्रचवन गर्ने भनेको छ ।

लुम्बिनी विकास कोषले लुम्बिनीमा रहेको सभाहल प्रयोग गर्न अनुमति दिएपछि राम कथा प्रेमयज्ञ समितिले कार्यक्रमको तयारी गरेको हो ।

सो कार्यक्रम लुम्बिनीमा नराख्नका लागि संयुक्त बौद्ध धर्मावलम्बी संघर्ष समितिको व्यानरमा प्रदर्शन गरिएको छ ।

सो क्रममा ‘धार्मिक हस्तक्षेप बन्द गर’, ‘लुम्बिनी विकास कोषका उपाध्यक्ष राजीनामा दे’, ‘लुम्बिनीमा गैरबौद्धहरुको गतिविधि बन्द गर’ लगायतका नारा लगाइएको छ ।

लुम्बिनी विकास कोषले बुद्ध धर्मावलम्बीहरुको आस्थामा ठेस नपुर्याइकन कार्यक्रम गर्न अनुमति दिइएको जनाएको छ ।

नेपाल आदिवासी जनजाति महासंघले पनि आइतबार नै एक विज्ञप्ति जारी गरी धार्मिक हस्तक्षेप हुने खालको कार्यक्रम राखिएकोले उक्त कार्यक्रम रोक्न सरकारसँग माग गरेको थियो ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्