काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले मन्त्रीहरुलाई पैसा दिनुपर्ने भन्दै विदेशी वायुसेवा कम्पनीसँग करोडौं रुपैयाँ घुस मागेको पाइएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरलाई निलम्बन गरिएको बताएका छन् ।
शुक्रबार नेपाल पर्यटन बोर्डले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री किरातीले महाप्रबन्धक ठाकुरलाई निलम्बन गर्नुका कारण बताएका हुन् ।
महाप्रबन्धक ठाकुरले थाई स्माइल एयरवेजका प्रतिनिधिसँग घुस मागेको अडियो शुक्रबार सार्वजनिक भएपछि किरातीले तत्काल उनलाई निलम्बन गरेका हुन् ।
‘यो मन्त्रीले पैसा खाँदैन, यसलाई पैसा मन पर्दैन,’ पर्यटन बोर्डका कर्मचारीहरुका बिचमा उनले भने, ‘ढुक्कसँग काम गर्नुहोस् । हामीले अप्रिय निर्णय आजै भर्खर गरेर आउनुपर्यो । एयरपोर्टको जिएमलाई निलम्बन गरेर भर्खरै आएँ । मन्त्रीलाई पैसा दिनुपर्ने भन्दै पैसा असुल्दो रहेछ । त्यही पनि थाई एयरसँग करोडौं रुपैयाँ, अरु पनि आउँछ, खुल्दै जान्छ ।’
मन्त्रालयका सहसचिव तथा प्रवक्ता राजेन्द्रकुमार केसीका अनुसार निलम्बनमा परेका ठाकुरकाे विषयमा अब अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन अघि बढाउने छ ।