काठमाडौँ । किरात राई यायोक्खाले केन्द्रीय तथ्याङ्क कार्यालयले राई जातिको विशेषता र विविधतालाई नबुझी गलत खालको तथ्याङ्क सार्वजनिक गरेको जनाएको छ ।
राई ‘जाति एक भाषा अनेक’ भए पनि तथ्याङ्क कार्यालयले त्यसलाई नबुझेको र जाति, भाषा र धर्मको सम्बन्धमा आफूहरुसँग छलफल नै नगरी तथ्याङ्क सार्वजनिक गरेको यायोक्खाको गुनासो छ ।
यायोक्खा तथा मातहतका भाषिक संस्थाका प्रतिनिधिहरुले आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गरी राई जातिको विषयमा सार्वजनिक गरिएको तथ्याङ्कहरु सच्याउन माग गरेका छन् ।
‘राष्ट्रिय तथ्याङ्क कार्यालयलाई किरात राई जातिको सरोकारको विषयमा बारम्बार ध्यानाकर्षण गरिएको, ज्ञापनपत्र बुझाइएको, पटकपटक छलफल गरिएको र छलफलमा तथ्याङ्क सार्वजनिक गर्नुअगाडि किरात राई यायोक्खा र सरोकारवाला पक्षसँग छलफल गरी सही निष्कर्ष निकालेर मात्र तथ्याङ्क सार्वजनिक गर्ने भनेर राष्ट्रिय तथ्याङ्क कार्यालयले भनेकोमा त्यसो नगरी राई जातिको विशेषता र विविधतालाई नबुझी मिथ्याङ्क सार्वजनिक गरेकोप्रति घोर भत्र्सना गर्दै असहमति प्रकट गर्दछौँ’, पत्रकार सम्मेलनमा जारी गरिएकाे विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा कुलुङ, बान्तावा, चाम्लिङ, याम्फू, नाछिरिङ, बाहिङ/बायुङ, थुलुङ, खालिङ, आठपहरिया, मेवाहाङ, साम्पाङ र लोहोरुङलाई जातिको विवरणमा राखिएकोमा सच्याएर राई जातिमै समाहित गर्नुपर्ने उल्लेख गरिएको छ ।
राई ‘जाति एक भाषा अनेक’ भएकाे जाति रहेकाे प्रष्ट पारिएकाे छ ।
त्यसैगरी करिब ४० हजार सङ्ख्या रहेको देवास राई भाषीले मातृभाषामा देवास लेखाएको तर तथ्याङ्कमा किन नसमेटिएको र त्यसलाई कहाँ राखिएको भनी प्रश्न गरिएको छ ।
मातृभाषाको महलमा राई भाषा भनेर १ लाख ४४ हजार ५१२ र पुर्खाको भाषामा २ लाख २८ हजार ५०२ सङ्ख्या देखाएर किन गलत तथ्याङ्क सार्वजनिक गरियो ? भनी तथ्याङ्क कार्यालयमाथि प्रश्न उठाइएको छ ।


