काठमाडौँ । वरिष्ठ गायक तथा संगीतकार जीतेन राई युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगको संस्कृति समितिको संयोजकमा मनोनित भएका छन् ।
किरात मुन्दुम अध्ययन केन्द्र ललितपुरका अध्यक्ष समेत रहेका गायक राईलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले युनेस्को अन्तर्गत संस्कृति समितिको संयोजकको रुपमा चार वर्षका लागि मनोनयन गरेको हो ।
समितिको संयोजकमा मनोनित भएका राई आयोगको कार्यकारिणी समिति सदस्यको रुपमा रहनेछन् ।
जनता समाजवादी पार्टी नेपालका सङ्घीय परिषद् समेत रहेका अशोक राईले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको जिम्मेवारी सम्हालेपछि गत चैत २४ गते रिक्त भएको आयोगको कूल ६३ सदस्यीय समितिको पदपूर्ति गरेका हुन् ।
शिक्षा मन्त्री नै आयोगको अध्यक्ष रहने व्यवस्था छ भने मन्त्रालयका सचिवदेखि, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सम्बन्धित शाखाका सहसचिव, पुरातत्व विभागका तोकिएको कर्मचारी, नेपाल पत्रकार महासंघ, अर्थ मन्त्रालय लगायत विभिन्न सरकारी निकायका कर्मचारीहरु पदेन सदस्य हुने व्यवस्था छ ।
जसमा गाउँपालिका अध्यक्षहरुबाट, नगरपालिकाका प्रमुखहरुमध्येबाट एक–एक जना मनोनित गरिने, शिक्षा, विज्ञान, सामाजिक, संस्कृति, आमसञ्चार लगायत क्षेत्रमा क्रियाशील व्यक्तित्वहरुलाई समेटेर समिति गठन गर्ने व्यवस्था छ ।
मन्त्रालयको तर्फबाट शिक्षा समिति, विज्ञान समिति, सामाजिक समिति, आमसञ्चार समितिका संयोजकसहित सदस्यहरु र विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गर्ने विज्ञहरुसहितको पूर्ण समिति गठन गरिसकेको छ भने सोको औपचारिक घोषणा भने आगामी २९ असारमा गरिने जनाइएको छ ।
समितिमा रहने निजी क्षेत्रका विज्ञहरुले बैठक भत्ता बाहेक अन्य सुविधा पाउने कानुनी व्यवस्था छैन ।