काठमाडाैं । तामाङ समुदायकाे अपमान हुने गरी अभिव्यक्ति दिएकी अधिवक्ता भगवती पाण्डेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
काठमाडाैं प्रहरी परिसरले पाण्डेविरुद्ध पक्राउ पुर्जी जारी गरेकाे हाे ।
काठमाडौं प्रहरी परिसरका प्रहरी नायव उपरीक्षक (डीएसपी) अनिल अधिकारीका अनुसार जातीय भेदभावसहित दुई वटा कसुरमा कारबाही गर्न पाण्डेविरुद्ध पक्राउ पुर्जी गरिएकाे हाे ।
पाण्डेले एक टेलिभिजन अन्तर्वार्तामा ‘तामाङ समुदायमा दाजुबहिनीबीचमै बिहे हुने र त्यसको जेनेटिक कारणले अपराधिक मानसिकता भएकाहरु निस्कने’ भन्ने आशयको अभिव्यक्ति दिएकी थिइन् ।
उनकाे अभिव्यक्तिपछि नेपाल तामाङ घेदुङले पाण्डेविरुद्ध उजुरी दिएकाे थियाे ।
गत बुधबारकाे प्रतिनिधिसभाकाे बैठकमा नेपाली कांग्रेसकी सचेतक सुशीला थिङले पनि तामाङ समुदायको संस्कृतिमाथि धावा बोल्ने अधिवक्ता भगवती पाण्डेलाई हदैसम्मकाे कारबाही गर्न माग गरेकी थिइन् ।