उपलब्धिहरुलाई जोगाऔं, थप उपलब्धिका लागि एकजुट भएर अगाडि बढौंः मन्त्री राई

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले संविधानका उपलब्धिहरुको रक्षा गर्दै थप उपलब्धिका लागि एकजुट भएर संघर्ष गर्नुपर्ने बताएका छन् ।

२९औं विश्व आदिवासी दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघले बुधबार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको कार्यक्रममा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष समेत रहेका मन्त्री राईले सो कुरा बताएका हुन् ।

‘संविधानका उपलब्धिहरुलाई जोगाऔं, थप उपलब्धिका लागि एकताबद्ध भएर अगाडि बढौं,’ उनले भने, ‘मलाई लाग्छ, आज नेपालका आदिवासी जनजातिहरुले लिनुपर्ने नारा हो यो ।’

संविधानले हाम्रो अधिकार सुनिश्चित गरेन भनेर गुनासो गर्नेहरुलाई उनले भने, ‘यदि त्यो बेला अशोक राईले दुई तिहाइ बहुमत पाएको थियो भने यस्तो होइन, योभन्दा फरक खालको संविधान आउँथ्यो । तर दुर्भाग्य, हाम्रो चेतना कहाँ छ भने अशोक राईले त पाँच सिट पायो ।’

२०७० सालको संविधानसभाकाे निर्वाचनमा पहिचान र समानताको नारा लगाएर चुनावमा जाँदा तत्कालीन संघीय समाजवादी पार्टीले पाँच सिट मात्र पाएको उनले स्मरण गरेका थिए ।

उनले भने, ‘अहिले हामी भन्छौं- संविधान ठिक ढंगको आएन, संविधानले हाम्रो भावनाको कदर गरेन । भावनालाई कदर नगर्ने खालको शक्तिलाई भोट दिएपछि के हुन्छ ?’

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्