Thursday, September 28, 2023

सांस्कृतिक अभियान्ता भद्रगोल किरातीलाई ज्यान मार्ने धम्की

यायोक्खा पदाधिकारी पुगे प्रहरी प्रशासन

‘गड एन्जल’ भनिने भक्तकुमार राईका सहयोगीहरुले सांस्कृतिक अभियान्ता भद्रगोल किराती (मनोज कुमार राई)लाई ज्यान मार्ने धम्की दिएका छन् ।

किरातीले पनि आफूलाई धम्की दिएको भन्दै (हिजो) आइतबार जिल्ला प्रशासन कार्यालय ललितपुरमा उजुरी दिएका थिए ।

प्रहरीले (आज) सोमबार दुवै पक्षलाई बोलाएर छलफल गराएको छ ।

तर, भक्तकुमार राईको तर्फबाट जिल्ला तहका प्रतिनिधिहरु मात्रै उपस्थित भएपछि पुनः आगामी असोज १ गते दुवै पक्षबीच छलफल गरिने भएको छ ।

किरातीले आफूलाई दुईजना व्यक्तिले धम्की दिएको बताए । जसमध्ये एकजना हिन्दी भाषामा बोल्ने उनको भनाइ छ ।

‘हिन्दीमा बोल्छ, म विरगञ्जबाट हुँ भन्छ,’ किरातीले भने, ‘सायद त्यो मान्छे परिचालित होला ।’ धम्की दिनेको फोन आउँदा नम्बर ‘अन्नोन’ देखिने उनले बताए ।

किरातीले केही दिनअघि भक्तकुमार राईले सगरमाथाको चुचुरोमा ३२ घण्टा २७ मिनेट तपस्या गरेको भनी झुटो प्रचार गरेको रहस्य खोलिदिएका थिए ।

किरातीले यसबारे पर्यटन विभागसँग आधिकारिक सूचना मागेका थिए ।

विभागले ३२ घण्टा २७ मिनेट सगरमाथाको चुचुरोमा बसेको प्रमाणित गरिदिन निवेदन भक्तकुमार राईको निवेदन परे पनि उक्त विषय प्रमाणित गर्न नसकिने जवाफ दिएको जनाएको थियो ।

किरातीले यहीँ विषय बाहिर ल्याएपछि उनलाई धम्की दिइएको हो ।

उनका अनुसार सोमबारको छलफलमा भक्तकुमारको तर्फबाट जिल्ला तहका प्रतिनिधिहरु सुस्मा बुढा मगर, रामेश्वर राई र भीमकुमार राई मात्रै उपस्थित भए ।

तर, असोज १ गते हुने छलफलमा भने ‘सुप्रिम मास्टर गड एन्जल’समेत भनिने हाल क्यानडियन नागरिक भइसकेका भक्तकुमार राई र संस्थाका अध्यक्ष खेमबहादुर लिम्बुलगायत पदाधिकारीहरु नै उपस्थित गराउने सहमति–पत्रमा उनीहरुले हस्ताक्षर गरेका छन् ।

यता, किरातीलाई साथ दिँदै किरात राई यायोक्खाका केन्द्रीय सहअध्यक्ष टिकासरि राई, उपाध्यक्ष जनक राई, उपमहासचिव मातृका राई, सचिव सुमन राईलगायत अगुवाहरु प्रहरी कार्यालयमा पुगेका थिए ।

कृपया, साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरेर लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्