धर्मकाे नाममा हजार वर्ष अघिकाे मान्यतामा टाँसिएर बस्ने कि समयानुकूल बदलिने ?

हरेक धर्ममा अवैज्ञानिक र भेदभाव हुने मान्यताहरु छन्

बलराम तिमल्सिना

हिन्दु धर्म अनुसार इमान्दार भएर चल्ने हो भने-

लोग्ने मरेपछि स्वास्नीले एक दिन पनि बाँच्न पाइन्न । खुरुक्क ज्यूँदै लोग्नेको चितामा बसेर जल्नुपर्छ । अब भन्नुस्, आफ्ना छोरी-बहिनीहरूलाई सती पठाउन तयार को को हुनुहुन्छ ?‌

आफ्नी आमालाई बाउसँगै ज्यूँदै जल्न जाउ भन्न सक्ने को को छोरा-छोरी हुनुहुन्छ ? अनि लोग्नेसँगै ज्यूँदै जल्न तयार को को आमा दिदीबहिनीहरू हुनुहुन्छ ?

हिन्दु धर्मलाई अक्षरंश पालना गर्ने हो भने ब्राम्हणले अनिवार्य वेद पढ्नुपर्छ । धोतीपाटा फेरेर अरू कपडा फुकालेर केवल ब्राम्हणले पकाएको भोजन गर्नुपर्छ ।‌

होटलमा खान पाइन्न । राजनीति गर्नु हुन्न । जागिर खानु हुन्न, क्षेत्री होइन्छ । हलो जोत्नु, व्यापार गर्नु हुन्न, वैश्य होइन्छ । सेवा क्षेत्रका श्रम गर्नु हुन्न, शूद्र होइन्छ ।

अंग्रेजी बोल्नु हुन्न ।‌ छोराछोरीलाई वेद पढाउनु पर्छ, अंग्रेजी पढाउनु हुन्न । गाई खाने देशको पहिरन कोट, पाइन्ट, सर्ट, टाई आदि लगाउनु हुँदैन ।

गाई खानेको देशमा सकभर जानु हुँदैन । गैहालिएछ भने गाउँघर फर्केपछि पतिया गरेर मात्र भित्रिनुपर्छ । जुत्ता, बेल्ट, पर्स आदि बोक्नु या लगाउनु हुँदैन । किनकि, ती गाईको छालाबाट पनि बनेका हुन सक्छन् ।

काठको खराउ लगाउनु पर्छ। नित्य स्नान, नित्य तप, नित्य पूजा गर्नु पर्छ । नत्र नरकमा परिन्छ । नरकमा जानबाट जोगिएका को को ब्राम्हणहरू हुनुहुन्छ ?

बदलिँदा पनि आफूलाई फाइदा हुने कुरा चाहिँ नछोडी बदलिने हो कि मानिस मानिसमा खाडल बनाउने अनि अर्को धर्मको मानिसप्रति घृणा गर्ने सोचलाई पनि फाल्ने गरी बदलिने ?

माथि हिन्दु धर्मको कुरा गरियो । हिन्दु धर्ममा मात्र होइन, हरेक धर्ममा यस्तै यस्तै अव्यवहारिक, अवैज्ञानिक, भेदभाव हुने र अन्याय हुने कुराहरू हुन्छन् ।

अब के गर्ने ? धर्मको नाममा हजार वर्ष अगाडिको मान्यतामा टाँसिएर बस्ने कि समयानुकूल बदलिने हो ? नबदलिएर त सुखै छैन ।

बदलिँदा पनि आफूलाई फाइदा हुने हुने कुरा चाहिँ नछोडी बदलिने हो कि मानिस मानिसमा खाडल बनाउने अनि अर्को धर्मको मानिसप्रति घृणा गर्ने सोचलाई पनि फाल्ने गरी बदलिने हो ?

बदलिन त बदलिने तर ढोङ र पाखण्डका लागि अतितकालका घाउ-खटिरा जोगिने गरी बदलिने हो कि धर्मको जालोबाट पूरै मुक्त बनेर वैज्ञानिक सोच राख्ने गरी बदलिने ?

बदलिनुपर्ने हिन्दुहरूले मात्र होइन, सबैले हो । मेरो कुरा पनि सबैलाई हो । यहाँ जानकारीको कारणले मात्र हिन्दुहरूको बढी चर्चा भएको हो ।

र अन्तमा-

धर्मले हामीलाई के दिन्छ ? जागिर दिन्छ ? काम गर्ने सिप दिन्छ ? आपत् परेको बेला जस्तो, बाढी आएको बेला, पहिराे आएको बेला, अतिवृष्टि, अनावृष्टि आदि परेको बेला जोगिनको लागि कुनै उपाय दिन्छ ?

चोरले लखेटेको बेला, डाकाले घर घेरेको बेला, बलात्कारीले घिसारेको बेला या साहुले ठगेको बेला बचाउँछ ?

धर्मले यो धरतीभरिका मानिसहरूमा भाइचारा हुन दिन्छ ?

हिन्दु हृदयमा इस्लामप्रति दया-माया र सम्मान, इस्लाम हृदयमा‌ हिन्दुप्रति दया-माया र सम्मान, यस्तो हुन धर्मले दिन्छ ?

अरु त अरु हिन्दुभित्रै बाहुनकी छोरी माग्न दलितलाई घरमा आउने सुविधा दिन्छ ? सर्वजातीय भोज गर्न र भान्सामा दलितलाई पनि मिसाउने सुबिधा दिन सक्छ ?

(तिमल्सिनाकाे फेसबुकबाट ।)

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्