गाेपाल किराती
किरात याक्थुङ चुम्लुङका अध्यक्ष श्री प्रेम येक्तेनको मन्तव्य- “आदिवासीका लागि दसैँ क्यान्सर हो” श्रवण गरेपछि त्यसको समर्थनमा हामीले यो विचार प्रकट गरेका छौं । तथ्य र तर्कका आधारमा उपरोक्त शीर्षकको पक्षमा हामी निम्न तरफदारी पेस गर्दछौं ।
१. किराती जीवनदर्शन मुन्धुम हो । मुन्धुम र किराती समुदायका अनेक भाषामा कतै पनि दसैँ सम्बन्धमा कुनै उल्लेख या कही पनि अभिव्यक्त छैन । बरु दसैँको मूलमन्त्र- “आयूर्दोणसुते श्रीयं दशरथे… जयन्ती मंगलकाली भद्रकाली” ईत्यादिले दसैँ विशुद्व भारतीय आर्य समुदायको हिंसात्मक पर्व हो, भन्ने प्रमाणित गर्दछ ।
२. पृथ्वीनारायण शाहले नेपाललाई असली हिन्दुस्तान बनाउने र चार जात (बाहुन, क्षेत्री, वैश्य, शुद्र) को सामाजिक व्यवस्था गर्ने जुन राजनीतिक कार्यदिशा उदघोष गरे, त्यसका आधारमा दसैँ गोर्खाली हिन्दु शासकीय पर्व रहेकोबारे निःशंकोच प्रष्ट हुन सकिन्छ ।
गण्डक अथवा तमुवान क्षेत्रमा भारतीय हिन्दु कसरी घुसे भन्ने सम्बन्धमा ऐतिहासिक भौतिकवादी अध्ययन तथा कार्यकारण सिद्धान्तमा विश्लेषण जरुरी छ । त्यस अनुसार हाल भारतको गोरखपुरमा गोरक्षा मन्दिर रहेको, त्यस मन्दिरका एक जोगी मार्स्याङदी ईलाकामा आएर गोरक्षा मन्दिरको शाखा खडा गरी बसेको र घले राजामाथि कब्जा जमाउन पुगेका सामन्तवादी शाह वंशलाई कुनै अलौकिक शक्ति आवश्यक परिरहेको अवस्था स्वतः अनुमान गर्न सकिन्छ ।
तदनुरुप राजकाजवाला क्षेत्रीको खोजीमा रहेका (गोरक्षा मन्दिरका) कानफट्टा जोगी र अलौकिक शक्ति खोजी गरिरहेका शाह वंशबीच सन्धि हुन पुग्यो । त्यस उप्रान्त शाह वंशहरु चार जात व्यवस्थाको विधिवत हिन्दु बन्न पुगे । यसरी केन्द्रीकृत सामन्ती सैनिक राज्य विस्तारका अधिनायक पृथ्वीनारायण शाहले असली हिन्दुस्तानको कार्यदिशा उदघोष गरे, जुन अध्यावधि नेपालमा शासकीय अर्थराजनीति र संस्कृतिको रुपमा थोपरिएको छ ।
स्मरण रहोस् कि “गोरक्षा” शब्दबाट “गोरखा” बन्न पुग्यो । त्यही गोरखाको झन्डा बोकेर हिँडेका पृथ्वीनारायण शाहको सामन्ती सैनिक अभियान स्वाभाविक रुपमा “गोर्खा राज्य” तथा “गोर्खाली शासन सत्ता” बन्न पुग्यो । परिणाम, गणतन्त्र नेपालमा पनि “गोरक्षा” अथवा “गाई-गोरु रक्षा” को हिन्दुवादी शासनात्याचार यथावत छ ।
३. अतः उपरोक्त आधारमा गोर्खाली सैनिक अतिक्रमणसँगै पूर्वी नेपालमा शासकीय पर्वको रुपमा दसैँ लादिएको हो भन्ने कुरा लाटाले पनि सहजै भन्न सकिन्छ । जसलाई, आदिवासी जीवनका निमित्त क्यान्सर भनिनु शतप्रतिशत सान्दर्भिक ठहर्छ ।
[गाेपाल किरातीकाे फेसबुकबाट]