गैरआवासीय नेपालीहरुलाई राजनीतिक अधिकारसहितकाे नागरिकता मिल्दैन

युरोप भ्रमणमा रहेका शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले ‘एकपटकको नेपाली सधैको नेपाली’ भन्ने भावनाले नै संविधानले संसारभरि छरिएर रहेका गैरआवासीय नेपालीहरुलाई सामाजिक सांस्कृतिक आर्थिक अधिकारसहितको नागरिकता दिने व्यवस्था गरेको बताएका छन् ।

आइतबार बेल्जियममा आयोजित कार्यक्रममा मन्त्री राईले गैरआवासीय नेपालीहरुले दोहोरो राजनीतिक अधिकारसहितको नागरिकता खोज्न नहुने आशय व्यक्त गरेका छन् ।

हाल नेपालीहरुले विभिन्न देशमा चुनाव नै लडिरहेको भन्दै त्यही व्यक्तिले फेरि नेपालमा पनि चुनाव लड्न पाउने राजनीतिक अधिकारसहितको नागरिकता खोज्न नहुने उनको भनाइ छ ।

सोही प्रसंगमा उनले भने, ‘यहाँ पनि चुनाव लड्ने, नेपालमा पनि चुनाव लड्ने भयो भने कति मिल्जोजुल्दो हुन्छ कानुनी हिसाबले ? यो हामीले हेर्नुपर्ने हुन्छ ।’

उनले एकपटकको नेपाली सधैको नेपाली भन्ने कुरा भावनात्मक मात्र भएको तर कानुन भावनामा नचल्ने प्रष्ट पारे ।

विदेशी नागरिकता त्यागेर लगातार पाँच वर्ष नेपाल बसेको खण्डमा नेपालमा राजनीतिक अधिकारसहितको नागरिकता पाउने व्यवस्था पनि उनले स्मरण गराए ।

अमेरिकाको नागरिकता त्यागेर नेपालमा राजनीति गरिरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका नेता रवि लामिछाने गृहमन्त्री बनेको उदाहरण दिँदै उनले भने, ‘तपाईं लगातार पाँच वर्ष नेपालमा बस्नुहोस्, विदेशको नागरिकता त्याग्नुहोस् । तपाईं मजाले राजनीतिमा भाग लिन सक्नुहुन्छ ।’

जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष समेत रहेका मन्त्री राईले आफ्नाे पार्टीका नेता गम्बु शेर्पा अमेरिकाको नागरिकता त्यागेर चुनाव लडेर ओखलढुंगास्थित खिजिदेम्बा गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएको बताए ।

सो क्रममा मन्त्री राईले शिक्षा क्षेत्रमा रहेका विभिन्न समस्याहरुलाई सुधार गर्ने गरी शिक्षा ऐन प्रस्ताव गरिएको बताए ।
संसदमा छलफलको क्रममा रहेको उक्त ऐन पारित भएर कार्यान्वयन भएपछि शिक्षा क्षेत्रका धेरै समस्याहरु हल हुने उनले बताए ।

उनले निजी विद्यालयहरुको विस्तार हुने कारणको जड सरकारी विद्यालयहरुको सुधार हुन नसक्नु रहेको औल्याए ।
सो क्रममा उनले देशको अर्थतन्त्र सुदृढ हुन नसक्नुले नै नेपालीहरु रोजगारी र अवसर खोज्दै विश्वका विभिन्न देशमा पुगेको बताए ।

कार्यक्रममा बेल्जियमका लागि नेपाली राजदूत गेहेन्द्र राजभन्डारी, बेल्जियममा रहेका जसपाका नेता तथा कार्यकर्ताहरु, आदिवासी जनजातिजन्य संस्थाका प्रतिनिधिहरु र अन्य सहभागीहरु थिए ।

नेपालको संविधानको धारा १४ मा गैरआवासीय नेपालीलाई नागरिकता दिन सकिने व्यवस्था गरेको छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्