किरातहरु नेपालको सबैभन्दा शास्त्रीय समुदायः विष्णु दाहाल

पशुपतिनाथ मन्दिरको पहिलो नेपाली भट्ट डा. विष्णुप्रसाद दाहालले कोशी प्रदेश नाम खारेज गरी ऐतिहासिक सभ्यता र पहिचानको आधारमा राख्नुपर्ने बताएका छन् ।

प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समितिले सुरु गरेको ‘घुर्मी–चिवाभन्ज्याङ पहिचानवादी जागरण–२०८०’लाई समर्थन जनाउँदै दाहालले सो कुरा बताएका हुन् ।

संघर्ष समितिले बिहीबार उदयपुरको घुर्मी बजारमा आयोजना गरेको कार्यक्रममा उनले भने, ‘मैले संस्कृत वाङ्मयका वेद, इतिहास, पुराण, काव्यसाहित्यको अध्ययन गर्दाखेरि सबभन्दा बढी शास्त्रीय समुह यदि नेपालमा छ भने त्यो किरातहरु छन् । किरातहरुको दशौं हजार वर्षको इतिहास छ । पूर्व–पश्चिम हिमालयको काखमा पहिलो पटक देश निर्माण गर्ने किरातहरु हुन् । जसले देश निर्माण गर्यो, आज एउटा प्रदेशको पहिचानको लागि आन्दोलन गर्नुपरेको छ, यो कति दुर्भाग्यपूर्ण कुरा हो ।’

उनले किरातहरुको ऐतिहासिक परिचय, सभ्यता, संस्कृति र जीवनदर्शन रहेको बताए ।

उनले इतिहास र पहिचान भएको तर नामेट पारिएको समुदायलाई अगाडि ल्याएर विकास र समृद्धि ल्याउनका लागि नै गणतन्त्र ल्याइएको बताए ।

उनले भने, ‘एउटा समाज बन्नका लागि जे जे चिज आवश्यकता हो, त्यो सम्पूर्ण चिज भएको समाज र पहिचानलाई हामीले स्वीकार गर्दैनौं भने त्यसले देशमा शान्ति अमन–चयन हुन सक्दैन ।’

उनले अहिले देशमा प्रगतिवादी र यथास्थितिवादीको बिचमा ठुलो गृहयुद्ध हुन सक्ने अवस्था सिर्जना भएको पनि बताए ।

उनले भने, ‘नेताहरुले यसलाई ठिक ढंगले बुझेनन् भने यहाँ कोही पनि बच्नेवाला छैन, कसैको पनि अस्तित्व रहने छैन ।’

उनले सबैको अस्तित्व स्वीकार गर्ने गरी संघीयताको पुनः परिभाषा गर्नुपर्ने बताए ।

सो क्रममा उनले एमाले, कांग्रेस र राप्रपामा रहेकाहरुलाई पार्टी छोडेर आन्दोलनमा लामबद्ध हुन आग्रह पनि गरे ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्