कुनै दबाबमा केबलकार निर्माण रोकिनु हुन्नः इन्द्र आङ्बो

कोशी प्रदेशको पूर्व मुख्यमन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता इन्द्र आङ्बोसँग दोहोरो चिनजान छैन । उहाँ माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलको नेता पनि भएकोले उहाँलाई धेरैले चिन्छन्, म पनि चिन्छु । सामाजिक सञ्जालमा उहाँले राख्नुभएका स्टाटस वा विचारहरु पढ्ने गर्छु ।

अहिले ताप्लेजुङको कुम्कुमलुङ (पाथीभरा) मा केबलबार निर्माण गर्न नहुने र मुक्कुमलुङ क्षेत्रलाई प्राकृतिक रुपमै रहन दिनुपर्ने पक्षमा पहिचान पक्षधर सचेत लिम्बु समुदाय र अन्य आदिवासीहरु लागिरहेका छन् ।

तर यही सन्दर्भमा एक जिम्मेवार नेता रहनुभएका आङ्बोको प्रतिक्रिया चाहिँ विरोधाभाषपूर्ण देखेँ मैले ।

हिजो प्रदेश नामकरणमा उनले जे भूमिका खेले, त्यसबेलादेखि नै उहाँ र उहाँको पार्टीप्रति मेरा ठुलो प्रश्न छ । किनभने कोशी प्रदेश नामकरणमा उहाँहरुले निर्णय गर्नुभो र भोटिङ गर्नुभो । जुन नाम अहिले खारेज गरी पहिचान जनित राख्नुपर्ने मागसहित आन्दोलन चलिरहेको छ । जसमा हालसम्म एक आन्दोलनकारी पदम लाजेहाङले सहादत प्राप्त गरिसक्नुभो, सयौले रगत बनाउनुभो, हजाराैले प्रहरीको अश्रुग्यास र लाठी खानुभो, दर्जनाैले मुद्दा-मामिला खेपिरहनुभएको छ ।

माओवादी केन्द्रका सांसदहरुले मात्र कोशी प्रदेश नामकरणमा मतदान नगरेको भए सायद अहिले प्रदेशको नाम प्रदेश नं १ नै रहिरहन्थ्यो । उत्पीडित पहिचानवादीहरुले आफ्नाे शक्ति पुर्‍याएकाे दिन पहिचानको आधारमा नामकरण गर्न सक्थे ।

तर, अब विधि पुर्‍याएर प्रदेशसभाले नै कोशी प्रदेश नाम राखिसकेपछि त्यसलाई खारेज गर्न फेरि बलिदान दिने वा ठुलो प्रभाव पुग्ने आन्दोलन नगरी हुन्न । सजिलो बाटो थियो, त्यो बिग्रिसकेको छ । अप्ठेरो बाटो हिँड्न पहिचानवादीहरुले फेरि पनि ज्यानको बलिदान दिनुपर्ने हुन सक्छ ।

मैले प्रसंग मुक्कुमलुङ र इन्द्र आङ्बोको निकालेको थिएँ । यस सन्दर्भमा इन्द्र आङ्बोले जे प्रतिक्रिया जनाउनुभो त्यो एकचोटि पढौं ।

नेता आङ्बोले यो प्रतिक्रिया पत्रकार तथा पहिचान पक्षधर अभियान्ता अर्जुन जम्नेली राईको स्टाटसमा गर्नुभएको हो ।

कोशी प्रदेश नामकरणमा भूमिका खेलेका आङ्बोको यस सन्दर्भमा के हो वास्तविक विचार भन्ने प्रश्न मेरो मनमा उब्जियो ।

यसबारे जानकारी लिन अहिले मसँग उहाँको सम्पर्क नम्बर छैन, नम्बर खोजेर फोन गरेर सोध्ने झन्झट पनि गरिनँ र यही छोटो आर्टिकल लेखेँ ।

आदरणीय पाठकहरुज्यू यदि तपाईले यो सामग्री पढ्नुभो भने कृपया चिन्तन मनन् गर्नुहोला, उहाँसँग नजिक हुनुहुन्छ भने सोध्नुहोला, संवाद गरेर उहाँको धारणा के हो बुझ्नुहोला, अरुलाई पनि बुझाउनुहोला ।

म उहाँलाई पहिचान विरोधी केबलकार निर्माण पक्षधर भनेर अहिले नै आरोप लगाउने पक्षमा छैन । तर सामाजिक सञ्जालमा एउटा जिम्मेवार नेताले जे विचार लेख्नछन्, त्यो त जनचासोको विषय त हो नि !

नेताहरुले के बोल्छन्, के लेख्छन्, कता जान्छन्, के खान्छन्, के लगाउँछन् भन्ने कुरा तिनका फलोअरहरुले हरेक पल नियालिरहेका हुन्छन्, उनीहरुले त्यहीबाट आफ्नाे धारणा निर्माण गरिरहेका हुन्छन् ।

म पनि उहाँको एक जना फलोअर हुँ । उहाँले कुनै पनि दबाबमा केबलकार निर्माण आयोजना रोकिनुहुँदैन भन्ने आशयको प्रतिक्रिया जनाउनुभएको छ । त्यसले मुक्कुमलुङमा जसरी भए पनि केबलकार बन्नुपर्छ भन्ने अर्थ लाग्छ ।

हिजो नदीको नाममा कोशी प्रदेश नाम राख्न भोटिङ गर्नुभएका उहाँ अहिले मुक्कुमलुङ क्षेत्रमा पुँजीवादी विकासकाे अवधारणा स्वरुप केबलकार निर्माणको पक्षमा लाग्नुभएको त होइन भन्ने प्रश्न उठेको छ । हो, हामीलाई विकास चाहिएको छ । तर विकास कस्तो हुनुपर्छ, कसका लागि हुनुपर्छ, कसरी गर्नुपर्छ भन्ने कुरामा गहन छलफल हुनुपर्छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

1 COMMENT

  1. यो मान्छे मुख्यमन्त्री त होइन

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्