सशस्त्र प्रहरी कसैकाे पक्ष विपक्षमा प्रयोग हुन्नः गृहमन्त्री लामिछाने

सरकारले लिम्बु याक्थुङहरुकाे पवित्र मुन्दुमी स्थल मुक्कुमलुङ (पाथीभरा)मा निजी क्षेत्रको लगानीमा केवलकार निर्माण कार्य अघि बढाएपछि मंगलबार लिम्बु समुदायका अगुवाहरुले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई भेटेर उक्त कार्य रोक्न माग गरेका छन् ।

मुक्कुमलुङ संरक्षण संयुक्त संघर्ष समितिका संयोजक श्रीप्रसाद लिम्बु, पाथीभरा केवलकार खारेजी संयुक्त संघर्ष समितिका संयोजक खगेन्द्र फेम्बु, प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समितिका संयोजक डकेन्द्रसिंह थेगिम, लिम्बु थरगत संस्था (याक्थुङ सयङ) मूल अभियान समितिको संयोजक नन्द कन्दङ्वा, किरात याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम येक्तेन लगायत संस्थाका प्रतिनिधिहरुले सिंहदरबारमा गृहमन्त्री लामिछानेलाई भेटेर उक्त माग गरेका हुन् ।

गृहमन्त्रीलाई भेट्न सँगै सिंहदबार पुगेका जनता समाजवादी पार्टीका नेता खगेन्द्र माखिमले आफूहरुको मागप्रति गृहमन्त्री सकारात्मक रहेकाे बताए ।

माखिमका अनुसार सरकारले मुक्कुमलुङलाई अतिक्रमण गरी नाम पाथीभरा बनाएकोमा सच्याउनुपर्ने, पाथीभराकै नाममा केवलकार बनाएर त्यहाँ नवजोडी घुम्न जाने ठाउँ बनाउन नहुने र केवलकार निर्माणकाे नाममा दशौं हजार रुख काट्न नहुने माग गरिएकाे छ ।

‘पहिलाकाे गृहमन्त्रीले के निर्णय गर्नुभएको रहेछ म बुझ्छु’, माखिमले गृहमन्त्री लामिछानेको भनाइ उदृत गरे ।

गृहमन्त्री लामिछानेले सो क्षेत्रमा कसैको पक्ष वा विपक्षमा सशस्त्र प्रहरी तैनाथ नहुने बताए ।

सरकारले चन्द्र ढकालकाे कम्पनीलाई केवलकार निर्माण गर्ने अनुमति दिएर काम अघि बढाउन खाेजेकाे छ र साेकाे सुरक्षाका लागि तल्लो फेदी (जहाँदेखि पैदल हिँडेर मुक्कुमलुङ जाने गरिन्छ)मा सशस्त्र प्रहरीको क्याम्प राख्ने तयारी गरेकाे छ ।

सशस्त्र प्रहरी जनताको सुरक्षाका लागि नै परिचालित हुने गृहमन्त्री लामिछानेले बताए ।

केवलकार निर्माणका लागि सरकारले सशस्त्र प्रहरी तैनाथ गर्ने सूचनापछि मुक्कुमलुङ संरक्षणका आन्दोलनकारीहरु केही दिनदेखि साे क्षेत्रमै बसेर प्रदर्शन गरिरहेका छन् ।

माखिमका अनुसार उक्त आन्दोलनबारे आफू पनि जानकार रहेको गृहमन्त्रीले बताएका थिए ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्