फोक्सिङटारको पुल बनाउन काठमाडौंमा सर्वदलीय बैठक

गत असोज १२ गतेको बाढीले खोटाङ र उदयपुर जोड्ने फोक्सिङटारस्थित दुधकोसीको सडक पुल बगाएपछि नेकपा एमालेका नेता तथा पूर्वसांसद विशाल भट्टराईले सो स्थानमा बेलीब्रिज लगाएर जनतालाई सेवा दिने भन्दै पहल सुरु गरेका थिए ।

उनले आफ्नाे पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, भाैतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहाल लगायतलाई भेटेका थिए र ती भेटघाटका तस्बिरहरु सामाजिक सञ्जालबाट प्रसार गरेका थिए ।

हाल खोटाङबाट निर्वाचित संघीय सांसद रामकुमार राईले पनि फोक्सिङटारमा बेलीब्रिज लगाएर यातायात सञ्चालन गर्ने संयुक्त पहल सुरु गरेका छन् ।

जसका लागि उनले बुधबार काठमाडौंकाे तिनकुनेमा सर्वदलीय बैठकको आयोजना गरे ।

बैठकमा एमालेबाट उषाकला राई, खगेन्द्र राई, रमेश पौडेल, राजन ढकाल, जसपाबाट रमेश राई, प्रकाश चाम्लिङ, रास्वपाका रविन्द्र ओझा, नेकपाका सञ्जिव सी लगायत पार्टीका नेताहरु सहभागी भए ।

जसमा राप्रपाका नेता तथा संविधानसभा सदस्य अर्जुन राई, बौद्धिक व्यक्तित्व डा. विष्णु राई, प्राज्ञ डा. धनप्रसाद सुवेदी, खोटाङ कलाकार समाजका अध्यक्ष रुपकुमार राई पनि थिए ।

खोटाङमा बाढीले पुर्‍याएको भाैतिक क्षतिको पुनः निर्माण लगायत अन्य विकास निर्माणका कामहरुमा संयुक्त पहल गर्ने उदेश्यका साथ सर्वदलीय बैठक राखिएको सांसद राईले प्रष्ट पारे ।

नेकपा माओवादी केन्द्रका नेता समेत रहेका उनले अब फोक्सिङटारको पुलको प्राविधिक अध्ययन गरी जुन तरिकाबाट जनतालाई छिटो सुविधा दिन सकिन्छ सोही तरिका अपनाउनुपर्ने बताए ।

एमालेकी उषाकला राईले विकास निर्माणमा संयुक्त पहल सुरु गरेकोमा सांसद राईलाई धन्यवाद व्यक्त गरिन् ।

बौद्धिक व्यक्ति डा. विष्णु राईले खोटाङको विकासमा फेरि सामूहिक पहल सुरु भएकोमा खुसी व्यक्त गर्दै त्यसलाई निरन्तरता दिन आग्रह गरे ।

जसपाका नेता रमेश राईले खोटाङको विकासमा सबै पार्टीहरु एकजुट सुखद् रहेकाे बताए ।

तर बैठकमा कांग्रेसबाट काेही उपस्थित थिएनन् भने प्रदेश सांसदहरु र विशाल भट्टराई पनि अनुपस्थित रहे ।

यद्यपि, बैठकले सांसद राईको संयोजकत्वमा कांग्रेस सांसद सरस्वती बजिमय, प्रदेश सांसद भुपेन्द्र राई, पिके राईसहित संविधानसभा सदस्यहरु, पूर्वसांसदहरु, खोटाङमा क्रियाशिल राजनीतिक दलका प्रतिनिधिहरु, बौद्धिक व्यक्तित्वहरु र पूर्वप्रशासकहरु सम्मिलित एक समिति बनाउने निर्णय गरेको छ ।

समितिले खोटाङको पुनः निर्माण र विकासका लागि प्रधानमन्त्री, विभागीय मन्त्रीहरु, प्रमुख प्रतिपक्षी दलका नेता र सबै राजनीतिक दलका प्रमुखहरुलाई भेटेर ध्यानाकर्षण-पत्र बुझाउने छ ।

बैठकपछि साल्पा अनलाइनले सांसद राईसँग गरेकाे छोटो कुराकानी:

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

1 COMMENT

  1. प्राकृतिक प्रकोपले क्षेति पुर्‍याइ नै सक्यो । तर पनि पुन: निर्माणका लागि पहल गर्न बैलाई समेटेर जाउ भन्नू राम्रो हो मा. रनम कु राई जिको ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्