गत असोज १२ गते सुनकोशीमा आएको भीषण बाढीले फोक्सिङटारस्थित मोटरेवल पुल बगाएपछि खोटाङको तराईसँग सिधा यातायात सम्बन्ध टुटेको छ ।
तत्कालका लागि बेलीब्रिज लगाएर भए पनि खोटाङलाई तराई र प्रदेशकाे राजधानीसँग जोड्न माग गर्दै खोटाङका जनप्रतिनिधि तथा विभिन्न राजनीतिक दलका नेताहरुले बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन–पत्र बुझाएका छन् ।
खोटाङका प्रतिनिधिसभा सदस्य रामकुमार राई नेतृत्वको टोलीले काठमाडौंको बालुवाटारस्थित निवासमै पुगेर प्रधानमन्त्रीलाई ज्ञापन–पत्र बुझाएको हो ।
फोक्सिङटारको पुल बगाएपछि खोटाङ जिल्ला प्राकृतिक नाकाबन्दीमा परेको भन्दै उनीहरुले उक्त स्थानमा पुल निर्माणको पहल गरिदिन प्रधानमन्त्रीलाई अनुरोध गरेका हुन् ।
बाढी–पहिरोले फोक्सिङटारको पुल बगाउनुका साथै मध्य पहाडी लोकमार्गका विभिन्न भाग, गाईघाट–दिक्तेल सडकका विभिन्न स्थान, स्थानीय सडक, विभिन्न झोलुङ्गे पुल, कुलो, खानेपानी, व्यक्तिका घरहरु, पशुपन्छी र अन्नबालीमा क्षति पुगेको ज्ञापन–पत्रमा उल्लेख छ ।
प्रधानमन्त्रीलाई ज्ञापन–पत्र बुझाउन नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी लगायतका नेताहरुका साथै पूर्वसांसदहरु, खोटाङ सेवा समाज, खोटाङ कलाकार समाजका प्रतिनिधिहरु बालुवाटार पुगेका थिए ।
ज्ञापन–पत्र ग्रहण गरेपछि प्रधानमन्त्री ओलीले बाढीपहिरोले क्षति भएको पुलहरुको निर्माणबारे राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन परिषद् र मन्त्रीपरिषद् बैठकबाट निर्णय गरिने बताए ।
अर्थमन्त्री विष्णु पौडेललाई समेत साथमा राखेका उनले बाढीपहिरोले अवरुद्ध सडकहरु सोचेकाे भन्दा छिटो गतिमा सञ्चालनमा आएको पनि बताए ।
ज्ञापन–पत्र बुझाएर निस्केपछि नेकपा माओवादी केन्द्रका नेता समेत रहेका सांसद राईले फोक्सिङटार अस्थायी रुपमा बेलीब्रिज भए पनि लगाउन माग गरिएको बताए ।
उनले भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र सम्बन्धित विभागका उच्च तहका कर्मचारीहरुलाई पनि भेटेर कुराकानी गरेको बताए ।
बाढीपहिरोले क्षति पुर्याएका भौतिक संरचनाहरुको पुनःनिर्माणमा सबै दलहरुको एकता र पहल आवश्यक रहेको भन्दै उनले गत हप्ता काठमाडौंमा सर्वदलीय बैठक आयोजना गरेका थिए ।