आगामी मंसिर १६ गते स्थानीय तहका विभिन्न ४४ पदमा उपनिर्वाचन गरिँदै छ ।
जसका लागि निर्वाचन आयोगले तयारी थालेकाे छ भने राजनीतिक दलहरुले उम्मेदवार छनोट प्रक्रिया अघि बढाएका छन् ।
डम्बर खतिवडा लगायत नेतृत्वकाे ‘नागरिक पहिलो अभियान’ले भने मंसिर १६ को उपनिर्वाचनमा दलका उम्मेदवारहरुलाई मत नदिन जनतालाई अपिल गरेको छ ।
दलका उम्मेदवारहरुले भन्दा स्वतन्त्र उम्मेदवारहरुले राम्रो काम गर्ने देखिएकोले र स्थानीय तहको निर्वाचन गैरदलीय हुनुपर्ने आफूहरुको धारणा रहेकोले अभियानले गैरदलीय उम्मेदवारलाई मत दिन अनुरोध गरेको हो ।
अभियानले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरेकाे थियाे ।
जसमा नागरिक अभियान्ता डम्बर खतिवडाले राजनीतिक दलहरुले स्थानीय समाजका प्रभितावान्, समाजसेवी तथा निष्ठावान् मान्छेहरुलाई किनारा लगाएर निर्वाचनमा टिकट बेच्न थालेको जिकिर गरे ।
वडा अध्यक्षको टिकटकाे लागि पनि एक करोड रुपैयाँसम्म दिइएको सूचना आफूहरुकहाँ आएको उनको भनाइ छ ।
खतिवडाले भने, ‘यिनीहरु (राजनीतिक दलहरु)ले एकातिर टिकट बेच्न थाले र पार्टीको टिकटबिना जितिँदैन भन्ने भ्रम सिर्जना गरे । त्यसरी टिकट किनबेच हुँदा स्थानीय समाजको निष्ठावान् नैतिकतावान् र समाजलाई चाहिएका भिजन भएका मान्छेहरु चाहिँ ओझेलमा परे ।’
उनले धरानका मेयर हर्क साम्पाङ, काठमाडौंका मेयर बालेन शाह र धनगढीका मेयर गोपी हमालले तुलनात्मक रुपमा दलबाट जितेका उम्मेदवारहरुले भन्दा निष्पक्ष तरिकाले स्थानीय तह सञ्चालन गरिरहेको बताए ।
दलहरुले त अहिले संस्थागत रुपमै भ्रष्टाचार गर्न थालेको उनकाे भनाइ छ । दलीय प्रणालीले स्थानीय तहमा भ्रष्टाचार बढेको जनताकाे गुनासो पनि आइरहेको उनले बताए ।