गिरप्तार गरिएका तीन जना मुक्कुमलुङ आन्दोलनकारीहरुलाई रिहाइ नगरेपछि संयुक्त मुक्कुमलुङ संघर्ष समितिसहितका संघ-संस्थाहरुले आजदेखि मेची राजमार्ग, तमोर करिडोर र ताप्लेजुङको यातायात अनिश्चितकालीन बन्द गरेका छन् ।
प्रहरीले गिरप्तार गरेका जनम लिम्बु, सुशील लिम्बु र संजोग लिम्बुलाई पुस २० गतेभित्र बिनासर्त रिहाइ गर्न समितिले यसअघि अल्टिमेटम दिएको थियो ।
तर, उनीहरु रिहाइ नभएपछि पुस २१ देखि अनिश्चितकालीन यातायात बन्द गरिएको हो ।
उनीहरुलाई प्रहरीले गत पुस १७ गते राति पक्राउ गरेको थियो ।
घरेलु हतियार बोकेको अभियोगमा प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ ।
मुक्कुमलुङमा लिम्बु समुदायकाे आस्थाको धरोहर विनाश हुने गरी तथा साे क्षेत्रकाे प्रकृति समेत बिग्रने गरी जबरजस्ती केबलकार बनाउन खोजिएको भन्दै हाल सोको विरोध भइरहेकाे छ ।
एक त सो क्षेत्रलाई हिन्दु नाम पाथीभरा नामकरण गरी सांस्कृतिक अतिक्रमण गरिएको र त्यसमाथि पनि एक निजी कम्पनीले नाफा कमाउने गरी केबलकार बनाउन खाेजिएकाे पहिचान पक्षधरहरुकाे भनाइ छ ।