आजदेखि किरात येले संवत् ५०८५ सुरु भएको छ । यो नेपालको किरात समुदायको संवत् हो ।
प्रथम किरात राजा यलम्बरले नेपालमा शासन गरेको समयको सुरुको विन्दुलाई आधार मानेर यो संवत् मानिएको हो ।
हाल यसलाई किरात समुदायले नयाँ वर्षको रुपमा मनाउने गरेका छन् ।
यो नेपालको सबैभन्दा पुरानो संवत् पनि हो ।

यसलाई किरात लिम्बु समुदायले येले तङ्बे, राईहरुले येले दोङ भन्ने गर्छन् । किरात सुनुवार र याक्खा समुदायले पनि यसलाई नयाँ वर्षको रुपमा मनाउने गरेका छन् ।
मत विभाजन
आज माघ १ गतेदेखि किरात येले संवत् ५०८५ सुरु भए पनि यसलाई कलिगत गणना भनिएको छ ।
हालसम्मको अध्ययन अनुसन्धनबाट भने प्रमाणित रुपमा यस वर्ष किरात येले संवत् ३८०४ हुन्छ ।
किरात समुदायमा येले संवत् ५०८५ कि ३८०४ चलाउने भन्ने मत भिन्नता कायम छ ।
राईहरुको साझा संस्था किरात राई यायोक्खाले ५०८५ लाई नै प्रचलनमा ल्याएको छ । लिम्बु समुदायको संस्था किरात याक्थुङ चुम्लुङले पनि ५०८५ लाई नै प्रचलनमा ल्याएको छ ।

यस सम्बन्धी अध्ययन गर्दै आएको यलम्बर फाउन्डेशनले भने तथ्य र प्रमाणका आधारमा ३८०४ लाई नै प्रचलनमा ल्याउनुपर्ने जाेड दिएकाे छ ।
तर,
आमरुपमा भने किरात समुदायले ५०८५ लाई नै मानिरहेको देखिन्छ ।
जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राईले सामाजिक संजालमार्फत किरात येले संवत् ५०८५ को शुभकामना दिएका छन् ।
उनले थारु र मगर समुदायले मनाउने माघी र माघे सङ्क्रान्तिको पनि शुभकामना दिएका छन् ।
हुन त माघे सङ्क्रान्ति किरात समुदायले पनि मनाउने गरेका छन् ।
हाल याे सबै समुदायकाे साझा चाडको रुपमा विकास भएको छ ।
किरात समुदायले बनतरुल, जाँड, रक्सी, राेटी, बंगुरकाे मासु जस्ता परिकार खाँदै नयाँ वर्षसहितकाे माघे सङ्क्रान्ति मनाउने गरेका छन् ।
काठमाडौं उपत्यकामा थारु र मगर समुदायका जातीय संस्थाले माघी र माघे सङ्क्रान्तिकाे अवसरमा विशेष सांस्कृतिक कार्यक्रम गर्दै आएको छ ।