मुक्कुमलुङ आन्दोलनका अगुवा प्रेम येक्तेनले मुक्कुमलुङ (पाथीभरा) मा जति चाडो केबलकार खारेज हुन्छ, त्यति चाडो बन्द खुल्ने बताएका छन् ।
अनिश्चितकालिन यातायात बन्द कहिले खुल्छ भन्ने कुरा चन्द्र ढकाल र सरकारलाई नै सोध्नुपर्ने उनकाे भनाइ छ ।
किरात याक्थुङ चुम्लुङका अध्यक्ष समेत रहेका उनले फेसबुकमा लेखेका छन्, ‘मुक्कुमलुङमा जति चाडो केबलकार खारेज हुन्छ, त्यति चाडो बन्द खुल्नेछ । त्यसैले बन्द कहिले खुल्छ भनेर हामीलाई होइन, चन्द्र ढकाल र सरकारलाई सोध्नुहोला ।’
मुक्कुमलुङ संरक्षण संयुक्त संघर्ष समितिले हिजोदेखि तमोर करिडोर र मेची राजमार्गमा अनिश्चितकालिन यातायात बन्द गरेको छ ।
गत माघ १२ गते सशस्त्र प्रहरीले भेला भएर बसिरहेका आन्दोलनकारीहरूमाथि हस्तक्षेप गर्दै गोली चलाएर तीन जनालाई गम्भीर घाइते बनाएपछि सोकाे विरुद्धमा समितिले अनिश्चितकालिन यातायात बन्द आव्हान गरेको हाे ।
उनीहरूलाई वार्तामा बस्न कोशी प्रदेश सरकारले बाेलाएकाे छ ।
तर याे समस्या प्रदेशकाे तहबाट समाधान हुनै नसक्ने भन्दै प्रदेश सरकारसँग आफूहरुले वार्ता नगर्ने उनीहरूको स्पष्टोक्ति छ ।
हाल, घाइतेहरूको काठमाडौँमा उपचार गरिँदैछ ।