जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राईले मुक्कुमलुङ आन्दोलन र सशस्त्र प्रहरी गोली काण्ड संसदमा उठाएका छन् ।
आजदेखि सुरु भएको संसदको पाँचौ अधिवेशनमा अध्यक्ष राईले मुक्कुमलुङ आन्दोलनमा सरकार गम्भीर बन्नुपर्ने बताए ।
आन्दोलनकारीहरूलाई वार्ताको टेबलमा ल्याएर समाधान खोज्नुपर्नेमा प्रहरीले गोली चलाएर तीनजनालाई गम्भीर घाइते बनाएको उनले बताए ।
उनले भने, ‘वार्ताको टेबलमा ल्याएर समाधान खोजिनुपर्नेमा स्थानीय प्रशासनले गोली चलाएर मान्छेहरूलाई घाइते बनाउने अवस्था भयो र तीनजना गम्भीर घाइतेहरू अहिले उपचाररत छन् । यामबहादुर लिम्बू तेह्रथुम, सगुन लावती पाँचथर, धर्मान पालुङ्वा ताप्लेजुङ अहिले टिचिङ अस्पतालमा उपचाररत छन् । म उनीहरूको स्वास्थ्यलाभको कामना गर्न चाहन्छु ।’
उनले मुक्कुमलुङ आन्दोलनका क्रममा गिरफ्तार गरिएकाहरूलाई तत्काल रिहा गर्न सरकारसँग आग्रह गरे ।
उनले भने, ‘आन्दोलन र झडपका सिलसिलामा केही मानिसहरू गिरफ्तार भएका छन्, गिरफ्तारहरूलाई रिहा गरियोस् भन्ने अनुरोध गर्न चाहन्छु ।’
सो क्रममा उनले हाल नेताहरूप्रति जनताहरूको निराशा र अविश्वास रहेको भन्दै यस अवस्थालाई सबै मिलेर चिर्नुपर्ने आवश्यकता रहेको बताए ।
उनले संविधानमा रहेका त्रुटिहरूलाई सच्याउनुपर्ने आफ्नाे धारणा कायम रहेको बताए ।
उनले संघीयतालाई सही ढंगले कार्यान्वयन गर्न थुप्रै कानुनहरू निर्माण गर्न बाँकी रहेको भन्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउनुपर्ने बताए ।