लोकप्रिय हाँस्यकलाकार मनोज गजुरेलले पाथीभरा (मुक्कुमलुङ) मा केबलकार निर्माण कार्यबाट पछि हट्न सरकारसँग आग्रह गरेका छन् ।
पाथीभरामा केबलकार निर्माणकाे विषयलाई लिएर हालै भइरहेका घटनाहरू दुःखद् रहेको भन्दै उनले पाथीभरामा केबलकार नबन्दैमा केही नबिग्रिने तर शान्ति र सांस्कृतिक एकता बिग्रिए धेरै कुरा बिग्रिने भन्दै सरकारकाे ध्यानाकर्षण गराएका हुन् ।
केबलकारकाे विषयलाई लिएर ताप्लेजुङमा हरेक दिन नो केबलकार पक्ष र प्रहरीबिच हिंसात्मक घटनाहरू हुन थालेपछि गजुरेलले सामाजिक सञ्जालमा लेख्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उनले विवाद र विरोधबिचको विकासले दीर्घकालीन निकास नदिने भन्दै जनभावनाको कदर गर्न पनि आग्रह गरेका छन् ।
शनिबार बेलुकी ताप्लेजुङको फुङलिङमा नो केबलकार पक्षले मसाल जुलुस निकाल्ने क्रममा प्रहरीसँग झडप भएको थियो ।
मसाज जुलुस निकाल्न नदिन प्रहरीले हस्तक्षेप गर्न खोज्दा आन्दोलनकारीहरूकाे भिडले प्रहरीहरूलाई लाठी हान्दै लखेटेकाे थियाे ।
तर, मध्यराति भने प्रहरीहरूले घरघर पुगेर सुतिरहेका आन्दोलनकारीहरूलाई कुटपिट गर्ने र पक्राउ गर्ने काम गरेका थिए ।
रातको ४ बजेसम्म प्रहरीहरूले बदलाभाव लिएर हँदैसम्मको ज्यादती गरेको घटनाले आफूहरू झन आक्रोशित भएको नो केबलकार पक्षद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रहरीको कुटपिटबाट समर येङदेनको एउटा हात भाँचिएको, राम राईको दाहिने कुम खुस्किएको र खुट्टा भाँचिएको, एनके दर्नालको टाउकोमा गम्भीर चोट लागेको, शिशिर पोमु, अशिम पालुङ्वालगायत दर्जनौ घाइते भएका छन् ।
१५ जनालाई पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ ।



