किरात राईहरूको परम्परागत भाषा तथा संस्कार-संस्कृतिहरूलाई तोडमोड गर्न उद्यत रहेका कथित धर्मगुरु भक्तकुमार राई र उनका समर्थकहरूले साकेलाथान (साकेन्वाथान/तोसखम/भुमेथान) को नक्कल गर्दै ‘झिल्के पुतली थान’ खडा गरी साकेला सिली नाच्न थालेको पाइएको छ ।

आफूहरूलाई ‘हेभेन्ली पाथ’ भन्ने, सुप्तुलुङ (तिनचुला) नै उखेलेर फाल्ने र किराती संस्कारबाट जाँड-रक्सी हटाउनेहरूले क्रिस्मस ट्री जस्तै देखिने झिल्के पुतली थान खडा गरी साकेला नाचेको घटना हाँस्यास्पद छ ।

तर, यस्ता हर्कतहरूले किरात राईहरूको परम्परागत संस्कार-संस्कृतिहरूलाई नामेट पार्ने र समुदायमा गम्भीर सांस्कृतिक विचलन ल्याउने भन्दै किक अभियानका संयोजक भद्रकोल किराती (मनोजकुमार राई) ले बिहीबार एक प्रेस विज्ञप्ति जारी गरी किरात खम्बु राईहरूको संस्कार-संस्कृतिहरूलाई विकृत पार्ने सांस्कृतिक अपराधीहरूमाथि कानुनी कारबाहीका लागि एकजुट भएर अघि बढ्न सबैलाई अनुरोध गरेका छन् ।

उनका अनुसार यो घटना भक्तपुरको हो ।

सामाजिक सञ्जाल फेसबुकमा बिरबहादुर राई नामका एक व्यक्तिले गत वैशाख २९ गते ‘उभौली पुजामा भेला अनि साकेला’ भन्दै केही तस्बिर र भिडिओहरू साझा गरेका थिए ।

जसमा कलस र दियो राख्दै पिरामिड आकारको एउटा झिल्के पुतली थान खडा गरिएको देखिन्छ ।

जसको वरिपरि राईहरूको परम्परागत पोसाक र गरगहना समेत लगाएर झ्याम्टा बजाउँदै साकेला सिली नाचिरहेको दृश्यले खास संस्कृतिप्रमीहरूलाई गिज्याइरहेको अनुभुती हुन्छ ।

मूलतः किरात राईहरू प्रकृति र पितृपुजक समुदाय हुन् ।

उनीहरूले आफ्नाे संस्कार संस्कृतिहरू गर्दा जाँड-रक्सी चलाउने, तिनचुला राख्ने र ढुङ्गा-माटो, खोला, नदिनाला, वन-जंगल, जीवजन्तु आदि प्रकृति र पुर्खाहरूलाई पुज्ने गर्छन् ।

तर, हाल क्यानडाकाे नागरिक भइसकेका र काठमाडौं जिल्ला अदालतबाट खोजीको सूचीमा समेत रहेका भक्तकुमार राई र उनका समर्थकहरूले भने तिनचुला उखेलेर फाल्ने, संस्कारबाट जाँड-रक्सी हटाउने र प्रकृतिकाे पुजा नगर्ने जस्ता काम गरेर किरात राईहरूको परम्परागत संस्कार संस्कृतिहरूलाई बिगार्ने वा ध्वस्त पार्ने दुस्प्रयास गरिरहेका छन् ।

किक अभियानका संयोजक किरातीले भक्तकुमार राई र उनका समर्थकहरूका यस्ता कार्यहरू नेपालको संविधान २०७२ र मुलुकी अपराध संहिता २०७४ को समेत विपरित रहेकाेले ती व्यक्तिहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने तर्क अघि सारेका छन् ।

मुलुकी अपराध संहिता २०७४ को दफा १६५ मा कसैले कसैको सामाजिक रितिरिवाजमा खलल पार्न नपाइने व्यवस्था छ । पारेको खण्डमा एक वर्ष कैद र दश हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था छ ।

किरातीले परम्परागत संस्कार-संकृतिलाई विकृत पार्नेहरूलाई सजाय दिलाउन आवश्यक कदम चाल्न, यस्ता सांस्कृतिक अतिक्रमणविरुद्ध सचेत हुन र सम्पूर्ण किरात राईहरू एक हुन विज्ञप्तिमार्फत अपिल गरेका छन् ।

‘धर्म संस्कृति र परम्पराको नाममा फैलिएकाे सांस्कृतिक भाइरसले हामीलाई दीर्घकालीन क्षति पुर्‍याउन सक्छ । त्यसकारण बेलैमा चेतौं, संगठित बनौं र हाम्रो मौलिक परम्पराको संरक्षण गरौं,’ उनकाे आग्रह छ, ‘सुप्लुलुङ र मुन्दुमको संरक्षणमा एक होऔं, भकुरा (भक्तकुमार राई) लाई कानुनी कठघरामा ल्याऔं ।’

स्मरण रहोस्, पछिल्लो समय जानेर वा नजानेर, तिनचुलालाई गलत तरिकाले प्रयोग गर्ने, दियो-कलस चलाउने, चुलामा केरा, स्याउ, सुन्तला जस्ता फलफुल चढाउने, ढोल-झ्याम्टा जहिले पनि जहाँ पनि प्रयोग गर्ने, फेटा जसलाई पनि लगाइदिने, साकेला सिली नाच्दा विकृत पारेर नाच्ने, संस्कार-संस्कृतिहरू गर्दा अत्यधिक तडकभडक, देखासिखी र पुँजीवादी ढाँचामा गर्ने आदि हुन थालेकाे छ ।

समुदायभित्रैबाट गर्न थालिएका यस्ता कार्यहरूप्रति पनि परम्परागत संस्कारप्रेमीहरूकाे ध्यान पुग्न आवश्यक छ ।