राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल र केपी पालुङ्वा नेतृत्वको नेपाल जनमुक्ति पार्टीबिच कार्यगत एकता गर्ने सहमति भएको छ ।
बुधबार दुवै दलद्वारा गठित कार्यदलहरूकाे संयुक्त बैठकले कार्यगत एकता गर्ने सहमति गरेको राष्ट्रिय मुक्ति पार्टी नेपालका नेता सन्तोष मेहेताले बताए ।
उनका अनुसार कार्यगत एकतालाई पार्टी एकतासम्म पुर्याउने लक्ष्य राखिएको छ ।
तर, दुवै दल पछिल्लो समय विभाजनबाट गठन भएको हो ।
राजेन्द्र महतोले करिब डेढ वर्षअघि महन्थ ठाकुर नेतृत्वको लोसपाबाट अलग भएर राष्ट्रिय मुक्ति पार्टी गठन गरेका हुन् ।
लोसपा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालबाट फुटेर गठन गरिएको थियो ।
केपी पालुङ्वा नेतृत्वकाे नेपाल जनमुक्ति पार्टी हालै मात्र राष्ट्रिय जनमुक्ति पार्टीबाट विभाजित भएर बनेको पार्टी हो ।
आपसमै टुक्रिँदै टुक्रिँदै स–साना दल बनेकाहरू फेरि ठुलो पार्टी बनाउने छलफलमा लागेका छन् ।
मूलतः नेपाल जनमुक्ति पार्टीका नेताहरूले सुरुबाटै आदिवासी जनजातिकै नेतृत्वमा शक्तिशाली पार्टी बनाउन जोड गर्दै आएका थिए ।
जनजातिहरूकाे न्याय र मुक्तिका लागि जनजातिकै नेतृत्वमा पार्टी बन्नुपर्ने उनीहरूको तर्क छ ।
तर, राजेन्द्र महतो मधेसी हुन् भने उनी हाल उपेन्द्र यादव, महन्थ ठाकुर, सीके राउत लगायत मधेसी नेताले नेतृत्व गरेको दलहरू सम्मिलित संघीय लोकतान्त्रिक मोर्चामा आबद्ध छन् ।
यसकारण, मधेसीलाई नेतृत्व नमान्ने नेपाल जनमुक्ति पार्टीका नेताहरू र राजेन्द्र महतोबिच पार्टी एकता हुने सम्भावना चाहिँ देखिदैन ।
समान राजनीतिक एजेन्डाहरूमा चाहिँ संयुक्त आन्दोलन र कार्यगत एकता सम्भव छ ।
