एमाले नेता महेश बस्नेतले धरानका लाेकप्रिय मेयर हर्क साम्पाङलाई डुबाउन कति बल गरिरहेका छन् भन्ने उनको पछिल्लो फेसबुक स्टाटसले देखाएको छ ।
जहाँ उनले मेयर साम्पाङलाई घृणित सम्बोधन ‘हर्के’ भनेर शिष्टाचारको दृष्टिले पनि निकै आपत्तिजनक सम्बाेधन गरेका छन् ।
हर्क साम्पाङले श्रमदान बापत श्रमदाताहरूलाई भुक्तानी दिएको प्रमाणित भएको छैन । यसबारे अफवाह फैलाइएको छ ।
खासगरी, धरानका उपमेयर तथा माओवादी केन्द्रका नेता अइन्द्रविक्रम बेघाको नेतृत्वमा यस किसिमको अफवाह फैलाइएको छ ।
उनीहरूको दाबी छ कि ‘हर्क साम्पाङले भ्रष्टाचार गर्ने कोसिस गरेका थिए’ ।
यही मौकामा पूर्वमन्त्री समेत रहेका बस्नेतले मेयर साम्पाङलाई हर्के भन्दै थप अफवाह फैलाउन खोजेका छन् ।

बस्नेतले यसअघि पनि श्रमदाताहरूलाई ८ सयदेखि १२ सयसम्म खाममा पैसा राखेर दिने गरिएकाे छ भनेर भ्रम फिजाएका थिए ।
बस्नेतको उक्त दाबी झुटो सावित भएको थियो ।
समाचार टिप्पणी
अहिले फेरि उपमेयर बेघा तथा माओवादीका कार्यकर्ताहरूले सामाजिक सञ्जालमा गरेका होहल्लालाई हो मा हो मिलाउँदै बस्नेतले साम्पाङले भ्रष्टाचार गरेको दाबी गरेका छन् ।
बस्नेतले डोर हाजिरी फाइलको ‘नक्कली कैफियत बनाएर सक्कली भ्रष्टाचार ढाक्न खोजेको’ लेखेर फेसबुकबाट भ्रम फिजाउन खोजेका छन् ।
उनले चाहिँ मिडिया म्यानिपुलेशन गरेको देखिन्छ, तर उल्टो मेयर साम्पाङलाई नै सोसल मिडिया म्यानिपुलेशन गरेको आरोप लगाएका छन् ।
मेयर साम्पाङले श्रमदानका क्रममा अभिलेखीकरणका लागि मात्रै डोर हाजिरी फाइल तयार पारेको बताएका थिए ।
उनले यसबारे पत्रकार सम्मेलन नै गरेर श्रमदातालाई श्रमबापत भुक्तानी नदिइएको प्रष्ट पारे ।
श्रमदानमा प्रयोग भएका तारजाली, सिमेन्ट जस्ता सामानहरूको लागि चाहिँ नगरपालिकाले भुक्तानी गर्ने प्रक्रिया थालिएकोमा विवाद भएको उनको भनाइ छ ।
तर, उता उपमेयरले भने भ्रष्टाचार गर्न खोजेको, एकै व्यक्तिले एक भन्दा बढीमा हस्ताक्षर गरेको, मिति नै नभएको फाइल भएको भन्दै मेयरको विरोध गरेका छन् ।
मेयर-उपमेयरबिचकाे लफडाकाे पुराना कथाहरू प्रायः हाम्रा पाठकहरूलाई थाहै छ ।
हर्क साम्पाङकाे विरोधी एउटा महेश बस्नेत वा उपमेयर बेघा मात्रै होइनन्, धरानका एमाले, कांग्रेस, माओवादी, जसपा नेपालजस्ता पार्टीका नेताहरू नै हात धोएर लागिरहेका छन् ।
श्रम संस्कृतिबाट मात्रै देश निर्माण हुन्छ भन्ने विचारका साथ अघि बढिरहेका र हाल अलग राजनीतिक दल गठनमा अघि बढिरहेका साम्पाङलाई आगामी निर्वाचन (२०८४) मा पनि प्रमुख दलहरूले ठुलै बाधक देखेका हुन सक्छन् ।
त्यसैले उनीहरूले हर्क साम्पाङको हरेक पाइलामा अवरोध सिर्जना गर्न खोजिरहेका छन् ।
केही निहु नपाएपछि ‘भ्रष्टाचार गर्न खोजेको’ भन्ने जस्ता दाबी गर्दै सामाजिक सञ्जालमा हल्ला गरिरहेका छन् ।
हो, नेतृत्वमाथि शंका गर्नुपर्छ जनताले । आँखा चिम्लेर पछि कुद्नु मुर्खता हुन्छ ।
तर इमान्दार कार्यकर्ताहरूले चाहिँ सरकारी बजेट जोगाएर श्रमदानबाट विकास गर्छु भन्दा र हजारौं जनता श्रमदानमा सहभागी भइरहँदा मेयरका विरुद्ध अप्रमाणित कागजातहरू सामाजिक सञ्जालमा फैलाउँदै बखेडा झिक्ने र श्रमदान र विकासलाई नै निरुत्साहित गर्न मिल्दैन ।
के हर्क साम्पाङको नियत भ्रष्टाचार गरेर धन कमाउने नै हो त ? धेरैलाई त त्यस्तो लाग्दैन ।
अलिक कडा स्वभावका छन्, विपत्का बेला सरकारी प्रक्रिया र विधिहरू मिचिए हाेला हो । यसबारे गहन खाेज अनुसन्धान र त्यसका असरबारे रिपाेर्ट ल्याउने काम पनि भएको छैन पत्रकारिता क्षेत्रबाट ।
तर, फगत विरोधकै लागि हर्क साम्पाङले नगरपालिकामा ‘भ्रष्टाचार गर्न खोज्यो’ भन्नु हाँस्यस्पद हुन्छ । पार्टीकै कार्यकर्ताहरू भए पनि इमान्दार पंक्तिले यसका विविध पक्षबारे साेच्नुपर्छ ।



