नविन हाङ्खिम

मेरो बुबा (उहाँसँगको बातचितको आधारमा)

मेरो बुवा २०२७ सालको तत्कालिन गाउँ पन्चायतकै पहिलो एस.एल.सि. ग्रेजुएट। मेरा बाजे लगायत गाउँका अगुवा बाजेहरुले सिक्किम, दार्जिलिङबाट गाउँले मिलेर गाँस, बास र तलब दिने सर्तमा शिक्षक ल्याएर स्कुल स्थापना गर्नुभएको थियो। शिक्षकको दुख भएपछि बाजेको सल्लाहमा बुवाले गाउँकै स्कुलमा शिक्षण पेशा सुरु गर्नु भयो।

बाजेको ४२ बर्षकै उमेरमा स्कुल स्थापना गर्ने धपेडीमै कतै जाँदा रेबिजले मृत्यु भएपछि पारिवारिक बोझ पनि आफ्नो काँधमा। बुवाको दाजुभाइमा एकै जना मात्र भाइ। काका युवक भएपछि तत्कालिन गल्लावाल (लाहुरे पठाउने व्यक्ति) लाई शिक्षण पेशाबाट आर्जेको राम्रै दानापानी दिएर ब्रिटिश गोर्खा भर्ती पठाउन सफल। भाइ लाहुरे भएपछि बुवाको महत्वाकांक्षा बढेछ। बाजे र साकु बाजेले आर्जेको सम्पति जोहो गरी आफ्नी साइली बहिनीको सहयोगमा उदयपुरमा जग्गा किन्नुभयो।

भाइले पनि लाहुरबाट जग्गाको दामको आधी पैसा पठाइदिए। बुवाको महत्वाकांक्षा अनियन्त्रित चुलिन्दै गयो। भाइले पठाएको पैसा रवाफ र मनोरन्जनमा उडाउनुभयो। भात खाने खेत किनिहालियो, काठको घर र खानेपानीको इनार साइली बहिनी र ज्वाइँको सहयोगमा बनिगो, भाइ लाहुरे छँदैछ, दुई भाइलाई पुगि हाल्छ। भाइले दाइलाई कसो नहेर्ला! यो केटाकेटी खेलाउने जागिर कसले खान्छ? भनी स्थाई निम्न माध्यामिक तह हेडमास्टरको जागिर आफैसँग एस.एल.सि. पास गर्ने गाउँको काकालाई घरमा बोलाई राजिनामा गरिदिनुभयो। जब जागिर छुट्यो, तब पैसाको कारणले तनाब शुरु भयो। भाइसँग सल्लाह पनि मिल्न छाड्यो। सम्बन्ध फेरि कहिले सुध्रिएन, झन् बिग्रिदै गयो। आफुले भने सोचेजस्तो भएन, बिरक्तिले छोप्यो।

कार्तिक महिना थियो रे, खेतमा सुनौला धानका बाला झुलिरहेका थिए रे। “त्यो खेत तीन पटक घुमे, धानका सुनौला बालाका तरेली निकैबेर हेरेर त्यतै त्यतै आसम नागालैण्ड हानिएँ” भनेर मलाई आफ्नो कथा सुनाउनु भएको थियो। प्रबासमा मानसिक अवस्था बिग्रेछ। चर्च लगिएछ। बाइबल पढाइएछ। पिटी पिटी प्राथना गर्न लगाइएछ, तर समस्या सुल्झेन।

धेरै बर्षपछि मेरी दिमाले आफ्नो जेठो ज्वाइलाई खोज्न पठाउनुभयो र सालोलाई खोजेर घर पनि ल्याइदिनु भयो। हामी ससाना थियौ। बुवादेखि अति डर लाग्थ्यो। त्यहाँदेखि उहाँको मानसिक अवस्था कहिल्यै पुर्णत निको भएन। उहाँमा एक किसिमको भ्रम छ। त्यो झुटो हो तर उहाँ स्विकार्नु हुन्न। झुटो भन्नेसँग बरु रिसाउनु हुन्छ।

उहाँमा एक किसिमको भ्रम छ। त्यो झुटो हो तर उहाँ स्विकार्नु हुन्न।

तर्क खत्रा गर्नु हुन्छ। चौतर्फी ज्ञानमा दखल राख्नु हुन्छ। वाककला उहाँको जन्मसिद्ध गुण हो। उहाँ एक पुन्यआत्मा पनि हुनुहुन्छ। शिक्षक हुँदा गाउँका केटाकेटी स्कुल लैजाने र फी आफ्नै तलबबाट तिर्दिनुहुन्थ्यो रे। बेबारिसे मान्छेहरुलाई आफ्नै परिवार सरह आफै घर नछोडुन्जेल १० बर्षसम्म आफ्नो घरमा राख्नु भएको याद छ। आगोले पेट डढेर त्यो घाउमा किरा स्याउस्याउ लागेर मर्न आटेको बालिकालाई आफ्नै खर्चले उपचार गरेको याद मलाई छ।

झुटो बोल्नुहुन्न। नाङ्गो सत्य बोल्नुहुन्छ। पुस्तक लेख्नुहुन्छ ती पाण्डुलिपी एक डोका आफै जलाइदिनुभयो। अझै एक दराज  पाण्डुलिपी छ्न् जुन माउले खाएर धुजा धुजा भैसकेका छन। म बुवाको लेख हेर्छु, उहाँको लेखाइमा तार्किकता छ। तर वास्तविकता भन्दा पर। छपाई योग्य छैनन्। त्यो भन्यो भने बाबुछोराको झगडा परिहाल्छ, त्यसैले भन्दिनँ। उहाँ सद्दे हुनुहुन्छ। खानु हुन्छ, पिउनु हुन्छ, बोल्नुहुन्छ, हास्नुहुन्छ। तर धेरै कुराको भ्रममा बाच्नु हुन्छ, जुन सत्य होइन। तर उहाँ सत्य मान्नु हुन्छ। यस्तो प्रकारको मानसिक रोगको उपचार पनि सहज नहुने रछ। किनकी, सबै ठिक छ राजनितीको गफ कि धर्मको गफ आफ्नो अकाट्य तर्क राख्न सक्नुहुन्छ। तर धेरै कुरामा म भ्रममा छु भन्ने स्विकार्न सक्नुहुन्न। उहाँमा कुनै महान क्रान्तिको नेतृत्व लिएको भ्रम छ। नेपालको सर्बोच्च पद पनि अश्विकार गरेको भ्रम छ। तपाईलाई मानसिक समस्या छ भन्न पनि गाह्राे, परिवार सँग रिसाउनु हुन्छ। सबै ठिक त छ, तर झुटो भ्रम छ।

मिलन राई (नक्कली व्याकुल माइला)

उहाँ मेरै गाउँको भएता पनि मैले धरानमा कलेज पढ्दा मात्र चिनेको। हामी आइ.ए.मा सहपाठी थियौ। तर उहाँ त्यतिबेला सम्ममा अनाम नाट्य र समर्पण नाट्य जमात जस्ता समुहको संस्थापक भैसक्नु भएको थियो। कबिता कथा लेख्नुहुन्थ्यो। केही साहित्यिक पुस्तक प्रकाशन गरिसक्नु भएको थियो। नाटक लेख्नु हुन्थ्यो, मन्चन गर्नुहुन्थ्यो। ठूलो पर्दाको चलचित्रमा पनि नृत्य गरिसक्नु भएको थियो रे भनेर सुनेको।

मिलन राई (नक्कली व्याकुल माइला)

गोरो अनुहार, लुरे शरिर, चुच्चो नाक, ह्यान्डब्याग झुन्ड्याएर हिँड्दा भद्र देखिनु हुन्थ्यो। गफ गर्दै जाँदा उहाँमा सुपेरियर कम्प्लेक्सको हाबी प्रष्ट झल्किन्थ्यो। म गाउँ हुँदा उहाँ पत्रकारितामा आबद्ध हुनुहुन्थ्यो। कैयौ पटक भेट भयो सधै मलाई इग्नोर गरिरह्नु भयो, बोल्नु भएन। पछि पछि म पनि बोल्न छाडिदिएँ।

उहिलेको कुरो। कहिले के, कहिले चिया र कहिले ज्योतिषिय प्रयोजनका रत्नहरु किन्न लगाउनुहुन्थ्यो। यसले उहाँको जीवन सरल रेखामा नचलेको थाहा हुन्थ्यो। सपना समात्न नसक्दा र महत्वाकांक्षाले कावा खाइदिँदा मान्छे के हुन्छ भन्ने उदाहरण हो उहाँ पनि। उहाँ ठग होइन। ठग भए आफ्नो पुस्तकमा आफ्नो नाम व्याकुल माइला भनेर सार्वजनिक रुपमा लेख्दै लेख्दैन। ठगले त आफ्नो वास्तविक परिचय लुकाउछ। उहाँ त आफू नै ब्याकुल माइला भएको आत्मबिश्वासका साथ दाबी गर्नुहुन्छ। त्यो आत्मबिश्वास सत्य होइन तर उहाँमा मानसिक भ्रम छ कि उहाँ नै हो ब्याकुल माइला, उहाँले नै लेखेको हो राष्ट्रिय गान। सक्कली ब्याकुल माइला चाहिँ उहाँकै तर्कमा नक्कली हुन्। यो अप्ठ्यारो प्रकारको मानसिक रोग हो। यस्तो खालको मानसिक राेगी आफै तयार नभै उपचार हुन सक्दैन रहेछ। तर आफै कहिल्यै स्विकार नगर्ने भएकोले उपचार गाह्राे हुन्छ।

मेराे कथा

माथि उल्लेखित पात्रहरुमा म आफुलाई भेट्दछु। कतै न कतै, कुनै न कुनै मोडमा त्यो समस्या मैले पनि भोगेको छु।जिवनमा दुई पटक जम्माजम्मी ७ बर्ष मानसिक समस्यामा बाँचेको छु। मैले मसल्स रिलाक्सेन्ट र ट्राङ्क्विलाईजर थुप्रै प्रयोग गरेको छु। मुड इन्ह्यान्सर र एन्टी एन्जाइटी ड्रगहरु कैयौ महिना लुकी लुकी सेवन गरेको छु।

तर किरातीहरु एकजना छैनन्, जसले दिलचस्पी दिओस्

बुवाको जस्तै मिथ्या भ्रम पनि थिएछ ममा। सिजोफ्रेनिया, हलुसिनेशन र न्युरोसिस जस्ता समस्याले गाज्दै रहेछ। मानसिक रोग लाग्दै गर्दा चाैबिसै घण्टा समाती रहँदैन, दिनभरिमा कुनै पल स्वाभाबिक अवस्थामा फर्किन्छ। हप्तामा कुनै दिन शान्ति जस्तो दिन पनि आउने गर्छ। त्यही समय आफुलाई पूर्ण मुल्यांकन गरी निदानको बाटो खोज्नुपर्ने रहेछ। त्योबेला परिवार, आफन्त, समाज र साथीले बुझ्दैनन्। उनीहरुले त खराब व्यक्तिकाे ट्याग भिराउँछ्न्, तपाईलाई एभोएड गर्नतिर लाग्छ्न्। मान्छेहरुले सन्की भन्छन्, कतिले ठिकै देख्छन्। तर आफुभित्र हुरी-बतास र बाढी-पहिरो गैरहेको हुन्छ। त्यो निकै पिडादायी हुन्छ। सामान्य अवस्थामा फर्केको बेला आफैले आफैलाई बुझ्नुपर्ने हुन्छ।

म धन्य हुँ। अध्यात्ममा लाग्दा अलिअलि भए पनि आफुले आफैलाई नियाल्ने कला सिकिसकेको थिएँ। जब मानसिक समस्याले कडा र दोस्रो धक्का दियो डु अर डाइको अवस्थामा पुर्यायो। सामान्य अवस्थामा फर्केको पल मैले आत्मामा “डु”को सानो दियो जलाएँ। स्वदेशी, बिदेशी साथीहरुबाट थोरै पैसा सहयोग मागे। (ती सहयोगीहरुको नाम एकदिन यही वालमा लेख्नुपर्ने हुन्छ)। अब खानलाई चिन्ता भएन। त्यो पैसा लिएर म घरबाट निस्के। नेपालका मन्दिर, देवालय, धार्मिक स्थल, बिपश्यना केन्द्रहरुमा साधना गर्दै बिताए। बराहक्षेत्रको किरात माङखिममा तीन महिना, चतारामा करिब एक महिना, धम्म बिराट बिपश्यना केन्द्रमा २ महिना जति, धम्म चितवन बिपश्यना केन्द्रमा अढाई महिना, देवघाटमा दुइ अढाइ महिना जति, इलामकाे माङ्सेबुङ, दमक, बराहक्षेत्र आसपासका धन्कुटा भोजपुरका गाउँहरुमा घुम्दै साधना गर्दै कहिलेकाहीँ घर छुस्स पुगेर आउँदै बिताउँदा करिब एक बर्ष बित्यो। चितवन र देवघाटतिर साधना गर्दै हिँड्दा चितवनको बिपस्यना केन्द्रमा रहँदै गर्दा झल्यास्स ब्युझेझै भयो। त्यही ४७ बर्षको उमेरमा जिवनमा पहिलो पुर्ण कविता फुर्यो। अहिले तीन बर्षको अन्तरालमा मेरो कवति पनि ३६ वटा पुगिसकेका छ्न्। कबिता लेख्छु भनेर कहिल्यै योजना बुन्दिन, अनायासै आइदिन्छ्न्।

देवघाट रहँदा पहिलो दुई वटा योगिक मुभ्स हेन्खामा निनान्मा सेवा (धर्ती आकाश नमस्कार) र माङ्युङ सेवा (प्रकृति नमस्कार) फुर्यो। अहिले मेरो २६ वटा सिक्वेन्स मुभहरु सृजना भैसकेका छ्न्। यसलाई सिलि नै नामाकरण गरेको छु। किनकी सबै प्रकृतिको नक्कल नै हुन्। As a whole Kirat Mystic Yoga नामाकरण गरेर बिदेशीलाई सिकाउँदैछु।

अध्यात्मिक साधनाले मेमोरी र सिर्जनसिलता बिकास गर्दो रहेछ भन्ने प्रमाणित भयो। यो रहस्य म सबैमा साझा गर्न चाहन्छु।  हिजोको दिनमा फेसबुकमा स्ट्याटस लेख्नु म बाचेकै छु, म ठिकै छु है भन्ने समाजलाई झुटो ढाडस दिनु थियो। आफ्नो इगो बचाउनुलाई थियो। आज स्ट्याटस लेख्नु मेरो आवश्यकता बन्दै गएको छ। पितृहरुकाे आशिर्वादले मबाट उत्रिएका किरात मिस्टिक योगले कसरी शारीरिक र मानसिक स्वास्थ्य बन्दोरहेछ भन्ने भन्ने कुरा ममा त लागू भयो। अहिले बिदेशीहरुमा परिक्षण गर्दैछु, रेस्पोन्स दामी आइरहेको छ।

पहिला लाग्थ्यो मेरो यो समस्या त्यो समस्या सुल्झियो भने आफै खुशी भैहाल्छु। तर त्यसो होइन रहेछ। समस्या मनमा हुँदो रहेछ। अहिले मेरो समस्या सुल्झेर आएका त छैनन् ती समस्या अझै छन्। तर त्यसलाई हेर्ने आँखा बद्लिएर आएको छ। त्यसले दिने पीडा परिबर्तन भएको छैन तर सहने क्षमता बढेको छ। संसार त्यही छ, भोग्ने मानसिकता बद्लिएको छ। म आफै किरात भएकोले पनि।

१) Kirat Mystic Yoga २) shamanistic Mundum meditation ३) Mundum (ancestral) healing ४) खोक्लिमाङ बक्मा (Forest Therapy) सम्पुर्णमा साझा गर्न चाहन्छु। आफु तर्फ फर्कने र आफुलाई नियाल्ने तरिका बाड्न चाहन्छु। स्कुलहरुमा  सिकाउन चाहन्छु। किनकी आवेसमा परीक्षामा फेल र प्रेममा धोका पाएको  बहानामा आत्माहत्या गर्नेसम्म घट्ना भैरहेको छ। त्यो आफुलाई नियाल्न नजान्नु र प्रकृतिलाई बुझ्न नसक्नु प्रमुख कारण ठानेको छु।

तर जागिर पनि खानै परेको  छ, समस्या त्यहाँ छ। अर्को कुरा कुनै किरातीले दिलचस्पी दिएको छैन। बिदेशीले अति मन पराएको छ। क्षेत्रीबाहुन मित्रहरुले सोध्नुहुन्छ, प्रशंसा गर्नु हुन्छ। तर किरातीहरु एकजना छैनन्, जसले दिलचस्पी दिओस् जबकी धेरैलाई मैले भनिसकेको छु।

(याे सामग्री नविन हाङ्खिमकाे फेसबुक वालबाट साभार गरिएकाे हाे।)

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here