गणेश नेपाली प्रकरणमा ९ बुँदे सहमति

आत्मदाहको प्रयासपछि वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएका मुगुका २५ वर्षीय गणेश नेपालीको घटनालाई लिएर सरकार र पीडित पक्षबीच ९ बुँदे सहमति भएको छ।

आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा भएको सहमतिअनुसार घटनाको सत्यतथ्य र निष्पक्ष छानबिनका लागि पूर्वन्यायाधीशको संयोजकत्वमा स्वतन्त्र छानबिन समिति गठन गरिनेछ। समितिले गठन भएको सात दिनभित्र आफ्नो प्रतिवेदन सरकारसमक्ष बुझाउनेछ।

सहमतिअनुसार छानबिन समितिको प्रतिवेदन र सिफारिसका आधारमा गणेश नेपालीलाई सहिद घोषणा गर्ने सम्बन्धमा आवश्यक निर्णय प्रक्रिया अघि बढाइनेछ।

घटनाका दिन फिल्डमा खटिएका काठमाडौं महानगर प्रहरीका कर्मचारीलाई तत्कालका लागि निलम्बन गरिने र छानबिन प्रतिवेदनका आधारमा आवश्यक थप कारबाही गरिने पनि सहमतिमा उल्लेख छ।

पीडित परिवारका लागि राहत तथा पुनर्स्थापनाअन्तर्गत मृतककी श्रीमतीलाई योग्यता र क्षमताका आधारमा काठमाडौं महानगरपालिकामा रोजगारी उपलब्ध गराइनेछ। साथै, उनकी छोरीको उच्च शिक्षासम्मको सम्पूर्ण खर्च महानगरले व्यहोर्ने र आगामी कार्यपालिका बैठकबाट उचित राहत रकम उपलब्ध गराइने सहमति भएको छ।

यसैगरी, अन्त्येष्टिको सम्पूर्ण व्यवस्थापन, आफन्तको यातायात तथा काठमाडौं बसाइ खर्च, शव बुझ्ने र पोस्टमार्टमलगायतका कानुनी प्रक्रिया सहज बनाउने तथा परिवारका एकाघरका सदस्यको स्वास्थ्य बीमाको व्यवस्था गर्ने जिम्मेवारी पनि सरकार र काठमाडौं महानगरपालिकाले लिने सहमति भएको छ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र हाम्रो युट्युब च्यानल पनि सब्स्क्राइब गर्न नबिर्सनुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्